निर्वाचन आउनका लागि ३७ दिन बाँकी रहेको छ । सरकारले घोषणा गरेको आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि ६ जना पूर्व अर्थमन्त्रीले मनोनयन दर्ता गराएका थिए । तर, एक जना पूर्व अर्थमन्त्रीले आफ्नो उम्मेदवारी फिर्ता लिए । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदावरी दिएका पूर्व अर्थमन्त्री तथा प्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराइले नाम फिर्ता लिएसँगै ५ जना मात्रै पूर्व अर्थमन्त्री चुनावी मैदानमा रहेका छन् ।
निर्वाचन आयोगले उम्मेदावरी दर्ता गर्नका लागि तोकेको माघ ६ गते ६ जना पूर्व अर्थमन्त्रीले उम्मेदवारी दर्ता गराए पनि नाम फिर्ता लिने समयमा भने एक जनाले आफ्नो नाम फिर्ता लिएको निर्वाचन अयोगले जनाएको छ । डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्तालिएसँगै अब मैदानमा पूर्व अर्थमन्त्री विष्णु पौडेल, जनार्दन शर्मा, बषमान पुन, प्रकाश शरण महत र ज्ञानेन्द्र कार्की चुनावी मैदानमा रहेका छन् । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देही–२ बाट चुनावी मैदानमा छन् । उनी नेकपा एमालेबाट उम्मेदवार बनेका छन् । हालसम्म पौडेलले ८ पटक मन्त्री हुँदा धेरै समय अर्थ मन्त्रालयको नेतृत्व गरेका छन् । त्यसैगरी अर्का पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत नुवाकोट–१ बाट उम्मेदवारी दर्ता गराएर मैदानमा छन् । महतले नुवाकोटमा पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् ।
नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्की सुनसरीको क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कार्की सुनसरी–४ बाटै प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वर्षमान पुन ‘अनन्त’ले प्रतिनिधिसभा निर्वाचनका लागि गृहजिल्ला रोल्पाबाट उम्मेदवारी दर्ता गराएका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले नेता जनार्दन शर्मा कर्णाली प्रदेशको रुकुम पश्चिमबाट उम्मेदवार छन् । पुष्पकमल दाहालसँग अलग भएर पार्टी निर्माण गरेका शर्मा यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए । रुकुम पश्चिमबाट उनी चार पटक निर्वाचित भइसकेका छन् । यो पटक पनि त्यो क्षेत्रमा उनी सबै भन्दा बलियो उम्मेदवार हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस