चालु आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा विदेशी विनियम सञ्चिति साढे ३२ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार विदेशी विनियम सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको हो ।
२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले वृद्धि भई २०८२ पुस मसान्तमा ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ पुस मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ पुस मसान्तमा १९.४ प्रतिशतले वृद्धि भई २८ खर्ब ८४ अर्ब ८ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ पुस मसान्तमा ३६.२ प्रतिशतले वद्धि भई रु.३५८ अर्ब ३७ करोड कायम भएको छ । २०८२ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२/८३ को छ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५३.१ प्रतिशत, १५०.७ प्रतिशत र ४०.५ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस