पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा नाफा बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९५.७४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्री आम्दानी बढेको र खर्च घटेका कारण कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २०.८८ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको सञ्चालन खर्च समीक्षा अवधिमा ५.२६ प्रतिशत बढेको छ भने प्रशासनिक तथा अन्य खर्च १२.७५ प्रतिशत घटेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १० रुपैयाँ १० पैसा बढेर १५ रुपैयाँ २६ पैसा पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ८४ रुपैयाँ ९५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.८९ गुणा रहेको छ । १ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष १६ करोड ५५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस