शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर निष्काशन गर्ने तयारी पूरा गरेको छ। कम्पनीले फागुन १७ गतेदेखि आईपीओ बिक्री खुला गर्ने जनाएको छ।
यस चरणमा कम्पनीले १८ लाख ४२ हजार ६ सय कित्ता सेयर सार्वजनिक निष्काशन गर्न लागेको हो। कर्मचारीका लागि छुट्याइएको ४४ हजार ४ सय कित्ता बाहेकको परिमाण सर्वसाधारणका लागि उपलब्ध गराइनेछ।
लगानीकर्ताले फागुन २२ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि माग गर्न सकिने व्यवस्था गरिएको छ। सेयर बिक्री तथा व्यवस्थापनको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटलले सम्हालिरहेको छ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर निष्काशन तथा बाँडफाँड प्रक्रिया सम्पन्न गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले पुस १६ गते कम्पनीलाई आईपीओ जारी गर्ने स्वीकृति प्रदान गरेको थियो।
ऊर्जा क्षेत्रमा सक्रिय शिखर पावर डेभलपमेन्टले बाग्लुंग जिल्लामा ४.९६ मेगावाट क्षमताको भिम खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८१ फागुन २५ गतेदेखि विद्युत उत्पादन सुरु गरिसकेको छ। साथै सोही क्षेत्रमा ६.०५ मेगावाट क्षमताको तल्लो भिम खोला जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस