नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार, ०४ फागुन २०८२ का दिन रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको सेयर पहिलोपटक कारोबारमा आएको छ। स्पेशल प्रि–ओपन सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा भएको हो।
नेप्सेले सूचीकरणका क्रममा कम्पनीको सेयरका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको प्रारम्भिक कारोबार मूल्य सीमा निर्धारण गरेको थियो। हालै परिमार्जित व्यवस्थाअनुसार नेप्सेले अंकित मूल्यको अधिकतम तीन गुणासम्म मात्र ओपनिङ रेन्ज तोक्ने प्रावधान लागू गरेको छ। सोही व्यवस्थाअनुसार रिलायन्सको पहिलो कारोबार ३०० रुपैयाँमै खुलेको हो।
सोमबार कुल १३० कित्ता सेयर खरिद–बिक्री भएको छ। विवरणअनुसार ४० कित्ता ३०० रुपैयाँमा, ५० कित्ता ३०६ रुपैयाँमा, १० कित्ता ३१२.१० रुपैयाँमा, १० कित्ता ३१८.३० रुपैयाँमा, १० कित्ता ३२४.६० रुपैयाँमा र अन्तिम १० कित्ता ३३० रुपैयाँमा कारोबार भएको देखिन्छ।
कारोबार बन्द हुँदा कम्पनीको सेयर मूल्य ३३० रुपैयाँ कायम भयो, जुन ३० रुपैयाँ अर्थात १० प्रतिशत सकारात्मक सर्किट वृद्धि हो।
रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गरेको थियो। योग्य संस्थागत लगानीकर्ताबीच प्रतिस्पर्धात्मक बोलपत्रमार्फत प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म मूल्य निर्धारण भएको थियो। त्यस आधारमा १० प्रतिशत छुट दिई सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा सेयर बाँडफाँट गरिएको थियो।
यस हिसाबले हेर्दा सोमबार ३०० रुपैयाँदेखि ३३० रुपैयाँसम्मको दायरामा सेयर बेच्ने सबै लगानीकर्ता स्पष्ट रूपमा घाटामा देखिएका छन्। उदाहरणका लागि, ८२०.८० रुपैयाँमा किनेको सेयर ३०० रुपैयाँमा बिक्री गर्दा प्रतिकित्ता करिब ५२० रुपैयाँ घाटा हुन्छ। प्रतिशतका आधारमा यो करिब ६३ प्रतिशतभन्दा बढी गिरावट हो। ३३० रुपैयाँमै बेचेको अवस्थामा पनि करिब ४९० रुपैयाँभन्दा बढी घाटा पर्छ।
कम्पनीले पुस ७ देखि पुस ११ गतेसम्म सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो। कुल ९ लाख २४ हजार ७६८ कित्ता सेयर प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले निष्कासन गरिएको थियो।
कुल ५ लाख ३२ हजार ८८८ जनाले आवेदन दिएकोमा ५ लाख १९ हजार ४६ जनाको आवेदन मात्र स्वीकृत भएको थियो। तीमध्ये १८ हजार ४९५ जनाले ५० कित्ताका दरले सेयर प्राप्त गरेका थिए भने १८ जनाले थप १ कित्ता पाई ५१ कित्ता हात पारेका थिए। बाँकी सबै आवेदकको हात खाली रह्यो।
सूचीकरणपछि कम्पनीले नेप्सेले निर्धारण गरेको १००–३०० रुपैयाँको ओपनिङ रेन्जप्रति असन्तुष्टि जनाएको छ। कम्पनीका अनुसार अंकित मूल्यको करिब तीन गुणासम्म मात्र सीमा तोकिँदा बुक बिल्डिङ प्रक्रियाबाट तय भएको मूल्यभन्दा धेरै तल कारोबार सुरु भएको हो।
कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक (अपरिष्कृत) वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ ४९० रुपैयाँ ५४ पैसा रहेको उल्लेख गरेको छ। कम्पनीको दाबीअनुसार ९१२ रुपैयाँसम्मको मूल्य वित्तीय प्रक्षेपण र व्यावसायिक सम्भाव्यताका आधारमा निर्धारण गरिएको थियो।
पहिलो दिनको कारोबारले बजार मूल्य र बुक बिल्डिङमार्फत निर्धारण गरिएको आईपीओ मूल्यबीच गम्भीर अन्तर देखाएको छ। ३०० रुपैयाँमा खुलेर ३३० रुपैयाँमा बन्द भएको मूल्यले छोटो अवधिमा सकारात्मक सर्किट देखाए पनि आईपीओ मूल्यको तुलनामा भने ठूलो गिरावट रहेको छ।
यस अवस्थाले प्राथमिक बजार र दोस्रो बजारबीचको मूल्य समायोजन, नियामकीय ओपनिङ रेन्ज नीति तथा लगानीकर्ताको मनोविज्ञानबारे गम्भीर बहस सुरु गराएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस