अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्र आममानिसको मुहारमा झल्कनुपर्ने बताएकी छन् । युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन नसक्ने भन्दै उनले युवाले नातावाद, कृपावाद र भ्रष्टाचार नसहने पनि जिकिर गरिन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज सैनिकमञ्च टुँडीखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो धारणा राखेकी हुन् । प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वस्थ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको पनि बताइन् । निर्वाचनले ‘नयाँ युगको ढोका उघार्ने’ भन्दै उनले त्यसका लागि सरकार क्रियाशील रहेको जानकारी दिइन् ।
नेपालको निर्वाचन इतिहासमा वि.सं. २०१५ साल फागुन ७ गतेदेखि पहिलो प्रजातान्त्रिक निर्वाचन सुचारु भएको स्मरण गर्दै उनले फागुन २१ गतेको निर्वाचन तोकिएकै मितिमा ‘भयरहित र विश्वसनीय वातावरण’मा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको बताइन् । स्वस्थ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वमा लैजानुपर्नेमा उनको जोड थियो । निर्वाचनबाट आउने संसद र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गर्दै उनले संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धिका लागि सबैलाई एकजुट हुन अपील समेत गरिन् ।
कार्कीले भनिन्,‘प्रजातन्त्रको वास्तविक झल्को अन्त कहीँ होइन, आम मानिसको मुहारमा झल्किने आनन्ददायी मुस्कान र उनीहरूका निस्फिक्री निद्रामा झल्कनुपर्छ। म स्पष्ट रूपमा भन्न चाहन्छु– युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन सक्दैन । युवामा ऊर्जा छ, नैतिक क्रोध छ र परिवर्तनको आकांक्षा छ । उसले नातावाद, कृपावाद र भ्रष्टाचार सहँदैन । त्यो असन्तोषलाई दबाएर होइन, सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्न सक्छ । निर्वाचनलाई स्वस्थ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गरी मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने प्रयत्नमा हामीले पूरै ऊर्जा लगाएका छौं ।'
उनले लोकतन्त्र भनेको केवल प्रक्रिया मात्र पनि नभई नतिजा दिनुपर्नेमा जोड दिइन् । २३ र २४ भदौको घटनापपछि गठन भएको सरकारले जेनजी आन्दोलनको आवाजलाई गम्भीरतापूर्वक लिएको भन्दै प्रधानमन्त्री कार्कीले सुशासन, पारदर्शिता, समन्याय र जवाफदेहितालाई व्यवहारमा रूपान्तरण गर्ने दिशामा प्रयासहरू अभिमुख रहेको बताइन् ।
उनले भनिन्, ‘प्रक्रियाको नाममा नागरिकलाई अल्झाएर राख्नु, ढिलासुस्ती, हैरानी र प्रताडना दिनु पनि लोकतन्त्रको अभ्यास होइन । यो त बेथिति हो । यद्यपि, असामान्य अवस्थालाई सामान्यीकरण गर्दै मुलुकमा शान्ति सुव्यवस्था बहाली गर्नु र छोटो समयमा निर्वाचनको समेत सबल वातावरण बनाउनुपर्ने यस सरकारको प्राथमिक कार्यादेश रहेको पनि यहाँहरूलाई विदितै छ । यस निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास लिएकी छु ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस