भ्रष्टाचार अन्त्य, आर्थिक समृद्धि र सुशासनको नारासहित निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधि सभामा दुई तिहाइ नजिक पुगेको देखिएको छ। हालसम्मको मतगणनाअनुसार रास्वपाले ४८ क्षेत्रमा जित हासिल गरिसकेको छ भने ७२ क्षेत्रमा अग्रता कायम राखेको छ। अहिलेको रुझान अनुसार प्रत्यक्षतर्फ करिब १२० सिट जित्ने सम्भावना देखिएको छ।
समानुपातिकतर्फ पनि ५०–६० सिट प्राप्त हुन सक्ने अनुमान गरिएको छ। यस आधारमा प्रतिनिधि सभाको कुल २७५ सिटमध्ये रास्वपाको संख्या करिब १८१ आसपास पुग्ने देखिएको छ, जबकि दुई तिहाइका लागि १८४ सिट आवश्यक हुन्छ।
यता नेपाली कांग्रेसले ८ र एमालेले २ स्थानमा जित निकालेका छन्। नेपाली कम्युनिष्ट पार्टीले २ क्षेत्रमा जित हासिल गरेको छ भने स्वतन्त्र उम्मेदवार महाविर पुन पनि विजयी भएका छन्। अग्रतामा भने कांग्रेस १२, एमाले १० र नेपाली कम्युनिष्ट पार्टी ५ स्थानमा अघि छन्।
काठमाडौं उपत्यकामा क्लिन स्वीप गरेको रास्वपाले तराईका धेरै क्षेत्रमा पनि बलियो अग्रता कायम गरेको छ। सामाजिक सञ्जालमा ‘घण्टी’ प्रतीकको व्यापक चर्चा देखिएको छ भने परिणामपछि कांग्रेस–एमाले नेतृत्वमाथि आलोचना पनि बढिरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस