Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलमा इथानोल मिश्रण गर्ने बाटो खुल्यो, १० प्रतिशतसम्म मिसाएर बिक्री गर्न पाइने

अर्थ संसार

शनिबार, ३० फागुन २०८२, २० : ४० मा प्रकाशित

पेट्रोलमा इथानोल मिश्रण गर्ने बाटो खुल्यो, १० प्रतिशतसम्म मिसाएर बिक्री गर्न पाइने

सरकारले पेट्रोलियम पदार्थको आयात घटाउने र वैकल्पिक ऊर्जा प्रयोग बढाउने उद्देश्यसहित पेट्रोलमा इथानोल मिसाएर प्रयोग गर्ने व्यवस्था लागू गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२’ जारी गर्दै पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री–वितरण गर्न सकिने प्रावधान लागू गरेको हो।

नेपाल राजपत्रमा प्रकाशित उक्त आदेशअनुसार स्वदेशी कच्चापदार्थबाट इथानोल उत्पादनलाई प्रोत्साहन गर्ने, नयाँ रोजगारी सिर्जना गर्ने तथा पेट्रोलियम पदार्थको आयात घटाएर विदेशी मुद्रा बचत गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।

आदेशले इथानोल उत्पादनका लागि प्रयोग गर्न सकिने कच्चापदार्थको स्रोत पनि स्पष्ट गरेको छ। चिनी उद्योगबाट निस्कने खुँदो (मोलासेस), नेपियर घाँस, कृषि तथा वनजन्य जैविक अवशेष (बायोमास), पराल, मकैको खोया, गहुँको छ्वाली लगायतका कृषि अवशेष र खान अयोग्य सडेगलेका अन्नबाट इथानोल उत्पादन गर्न सकिने व्यवस्था गरिएको छ।

तर खाद्य सुरक्षालाई ध्यानमा राख्दै मानिसले प्रत्यक्ष उपभोग गर्ने खाद्यान्नलाई इथानोल उत्पादनमा प्रयोग गर्न भने पूर्ण रूपमा निषेध गरिएको छ। इथानोलको खरिद, बिक्री तथा वितरणको जिम्मेवारी नेपाल आयल निगमलाई दिइएको छ। इजाजतप्राप्त उद्योगहरूले उत्पादन गरेको सम्पूर्ण इथानोल अनिवार्य रूपमा निगमलाई मात्र बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ। निगमबाहेक अन्य कुनै निजी वा सरकारी निकायलाई सिधै बिक्री गर्न नपाइने आदेशमा उल्लेख छ।

निगमले आफ्नो उपलब्धता र प्राविधिक तयारीका आधारमा प्रतिलिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाउन सक्नेछ। आवश्यक परे मन्त्रिपरिषद्को निर्णयमार्फत मिश्रणको अनुपात घटबढ गर्न सकिने प्रावधान पनि राखिएको छ।

इथानोलको गुणस्तर सुनिश्चित गर्न कडा मापदण्डसमेत निर्धारण गरिएको छ। उत्पादित इथानोल नेपाल गुणस्तर तथा नापतौल विभागले तोकेको मापदण्डअनुसार हुनुपर्नेछ। आयल निगमले खरिदअघि प्रत्येक खेपको गुणस्तर परीक्षण गर्नेछ भने उत्पादक उद्योगले पनि आफ्नै प्रयोगशाला स्थापना गरी परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, इथानोल उत्पादन, भण्डारण, ढुवानी तथा पेट्रोलसँग मिश्रण गर्दा अपनाउनुपर्ने सुरक्षा मापदण्ड भने मन्त्रालयले छुट्टै तयार गर्ने जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको