सेयर बजारमा पछिल्ला दुई कारोबार दिनदेखि सुरु भएको गिरावट मंगलबारको कारोबार जारी रहँदा पनि घटेर कारोबार भइरहेको छ । नयाँ प्रधानमन्त्री र नयाँ सरकार बनेपछि बजार बढ्ने अपेक्षा गरिएको भए पनि बजारमा भने उल्टो प्रतिक्रिया आएको छ ।
आइतबार ठूलो गिरावट आएको बजार सोमबार पनि घट्यो । सोमबार नेप्से परिसूचक ४७.७१ अंक (१.६५ प्रतिशत) ले घटेर २८३१.३९ विन्दुमा पुगेको छ । यसअघि आइतबार ७१.०६ अंकले बजार घटेको थियो । यसरी दुई कारोबार दिनमै नेप्सेले कुल ११८.७७ अंक गुमाएको छ । जसलाई बजारमा ‘सेन्चुरी गिरावट’ भनेर चर्चा गरिएको छ । सोमबार २ करोड ९४ लाख ९६ हजार २०३ कित्ता सेयर १ लाख ५० हजार ५२ पटक कारोबार भएको छ । यस दिन कुल १२ अर्ब ९६ करोड माथिकोको कारोबार भएको थियो । बजार घट्दा अधिकांश लगानीकर्ता घाटामा गएका छन् । सोमबार कारोबारमा १७ कम्पनीका लगानीकर्ताले मात्रै नाफा कमाए भने २४८ कम्पनीका सेयरधनीले मूल्य गुमाएका छन् ।
नयाँ सरकार बनेपछि बजारमा उत्साह बढ्ने अपेक्षा गरिएको भए पनि बजारले भने त्यसको विपरित परिणाम देखाइरहेको छ । यसलाई लगानीकर्ताहरुले भने स्थिर सरकार निर्माण भए पनि आन्दोलन जारी रहेकाले बजार सकारात्मक हुन नसकेको बताएका छन् । संसदमा करिब दुई तिहाइ समर्थन रहेको बलियो सरकार आएपछि सेयर बजारले नयाँ उचाइ लिने अनुमान धेरैले गरेका थिए । तर, नयाँ सरकार बने पछि लगातार दुई दिन सेयर बजारमा उच्च गिरावट आयो भने आज पनि बजार घटेर नै कारोबार भइरहेको छ । यस्तो हुनुको कारण अरु नभएर राजनीतिक नै रहेको इन्भेष्ट फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले बताए । ‘अहिले आन्दोलन भएकाले नै बजार घटेको हो । केही समय पछि बजाले गति लिन्छ,’ उनले भने ।
बजार विश्लेषकका अनुसार सरकारको केही आर्थिक नीति र विशेष गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कडा प्रावधानले लगानीकर्तामा समेत डर बढाएकाले सेयर बजारमा त्यसको प्रभाव देखिएको बताए । सरकारले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न लगानीको स्रोतमा कडाइका साथ जाँच गर्ने संकेत दिएपछि ठूला लगानीकर्ताहरूले सेयर बेचेर बाहिरिने प्रयास गरेको देखिएको लगानीकर्ताकहरुको भनाइ छ । यसले बजारमा बिक्री चाप बढाएको देखिन्छ । लगातार रुपमा केही दिन बढेको बजारमा बिक्रीको चाप परेकालेनै बजार घटेको सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले बताए । कहि दिनमा बजारमा हरियाली देखिने उनको विश्वास छ ।
यस्तै, सरकारले प्रणालीलाई थप पारदर्शी बनाउने र आर्थिक गतिविधिमा कडाइ गर्ने संकेत दिएपछि पनि लगानीकर्ताहरु अहिले ‘पर्ख र हेर’ को मनोविज्ञान हरेका छन् । बजारमा तरलता भए पनि लगानीकर्ताहरू खुलेर लगानी गर्न तयार नदेखिनुको कारण बजार बढन् नसकेको विश्लेषण समेत भइरहेको छ । विश्व बजारको अस्थिरता र आन्तरिक नीतिगत कडाइका कारण अहिले नेप्से दबाबमा परेको देखिन्छ । विश्लेषकहरूका अनुसार सरकारले स्पष्ट नीति र लगानीकर्तालाई विश्वास दिलाउने कदम चाल्न नसकेसम्म बजारमा अस्थिरता केही समय जारी रहने सम्भावना रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस