नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गर्ने हो वा प्रधानमन्त्रीले पनि गोरखापत्रमै पढ्नुपर्ने अवस्था आउने हो भन्दै प्रश्न गरेका छन् ।
पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको कामप्रति नै शंका व्यक्त गर्दै आङदेम्बेले सरकारको नियतमाथि समेत प्रश्न गरेका छन्। ‘जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक पनि गर्ने कि प्रधानमन्त्रीजीले पनि गोरखापत्र पढ्ने ?'
उनले भदौ २४ गते संसद् भवन र सिंहदरबारमा भएको आगजनी घटनामा आयोगको मौनताप्रति असन्तुष्टि जनाए। आङदेम्बेले भदौ २३ र २४ गतेका घटनालाई फरक–फरक ढंगले व्याख्या गर्नु गलत हुने बताए। ‘कसैले २३ को घटना देख्ने, २४ को ध्वंश नदेख्ने । कसैले २४ ध्वंश नदेख्ने, २३ को दमन देख्ने । यो प्रवृत्ति एकदम गलत छ । किन संसद् भवन खरानी भयो? किन सिंहदरबार जल्यो? कसले जलायो? यी सबै घटनाको एक–एक गरी छानबिन हुनुपर्छ।'
उनले जाँचबुझ आयोगले २३ गतेको घटनामा मात्रै ध्यान दिएको र २४ गतेको घटनालाई बेवास्ता गरेको आरोप लगाए। पटक–पटक समय थपिँदा पनि प्रभावकारी काम नभएको भन्दै उनले आयोगको नियतमाथि प्रश्न उठाए।
अन्त्यमा आङदेम्बेले सरकारलाई संयमित र जिम्मेवार ढंगले अघि बढ्न सुझाव दिँदै कांग्रेस सधैँ दोषी उम्किन नदिन र निर्दोष नफस्न दिन प्रतिबद्ध रहेको बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस