संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले नेपाललाई विश्वस्तरको आरोग्य (वेलनेस) पर्यटनको प्रमुख गन्तव्य बनाउने लक्ष्य व्यक्त गर्दै विदेशी पर्यटकलाई केवल भ्रमणका लागि मात्र होइन, आत्मचिन्तन र आत्मअन्वेषणका लागि पनि नेपाल आउन आग्रह गरेका छन्।
अन्तर्राष्ट्रिय आरोग्य दिवस (अप्रिल १५) को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाललाई ध्यान र तपस्याको उद्गमस्थलका रूपमा व्याख्या गरे। पशुपतिनाथ, लुम्बिनी, जनकपुरधामदेखि मुक्तिनाथसम्म फैलिएको आध्यात्मिक धरोहर र अनुपम प्राकृतिक सौन्दर्य नै नेपालको जीवन्त सभ्यता भएको उनको भनाइ थियो।
मन्त्री पौडेलले भने, ‘नेपाल ध्यानको उद्गम बिन्दु हो, जहाँ हजारौँ वर्षअघि ऋषिमुनिहरूले मानव चेतनाको गहिरो विज्ञान पत्ता लगाएका थिए। हाम्रो प्रकृति नै आरोग्यको केन्द्र हो त्यसैले नेपालमा घुम्न मात्र होइन, आफूलाई चिन्न आउनुस्।’
उनले भने, ‘थकित आत्माको शुद्धीकरण र भौतिकतामा निदाएको चेतनाको जागरणका लागि नेपाल आउनुस् भनेर हामीले विश्वलाई आमन्त्रण गर्नुपर्छ।’
सरकारले आरोग्यलाई जीवनशैली र संस्कारकै रूपमा विकास गर्ने नीतिगत प्राथमिकता राखेको जानकारी दिँदै मन्त्री पौडेलले सन् २०२७ लाई ‘नेपाल वेलनेस इयर’ (आरोग्य वर्ष) का रूपमा मनाउने घोषणा गरे।यसलाई देशको आर्थिक रूपान्तरणको एजेन्डाका रूपमा अघि बढाइने बताउँदै उनले यो अभियानलाई सफल बनाउन निजी क्षेत्र, शैक्षिक संस्था, सञ्चार क्षेत्र र विश्व समुदायलाई सामूहिक सहकार्यका लागि अपिलसमेत गरे।
नेपाल सरकारको एकल प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएअनुसार आज (अप्रिल १५) विश्वभर ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइँदैछ। यसलाई नेपालको ऐतिहासिक कूटनीतिक र सांस्कृतिक उपलब्धि मान्दै मन्त्री पौडेलले प्रस्तावको पक्षमा उभिने सबै मित्र राष्ट्रहरूप्रति आभार व्यक्त गरे। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांक उद्धृत गर्दै उनले हाल विश्वका १ अर्बभन्दा बढी मानिस मानसिक तनाव र समस्याले ग्रस्त रहेको औंल्याए। यस्तो चुनौतीपूर्ण अवस्थामा नेपालको शान्त प्रकृति, हिमाल, प्राचीन उपचार पद्धति र जीवित परम्पराहरूले विश्वभरका मानिसलाई स्वस्थ जीवनशैली र मानसिक शान्ति प्रदान गर्न सक्ने मन्त्री पौडेलले विश्वास व्यक्त गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस