शहरी फोहोर व्यवस्थापनमा प्रविधि र दिगोपनलाई जोड दिँदै ललितपुर महानगरपालिकाले विद्युतीय सवारी प्रयोगको औपचारिक सुरुवात गरेको छ। नेपालमा फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धि ले कस्टमाइज गरिएका ११ थान फोटोन TM1 इलेक्ट्रिक वेस्ट कलेक्सन गाडी महानगरलाई हस्तान्तरण गरेको हो।
नेपालमा पहिलोपटक शहरी फोहोर संकलनका लागि विद्युतीय गाडी प्रयोग गरिएको भन्दै यस पहललाई दिगो शहरी व्यवस्थापनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यसअघि सडक यातायातमा सीमित रहेको ईभी प्रयोग अब नगर व्यवस्थापनजस्ता अत्यावश्यक सेवामा विस्तार भएको छ।
ललितपुर महानगरपालिकाका लागि उपलब्ध गराइएका TM1 गाडीहरू सामान्य व्यावसायिक सवारी नभई विशेष रूपमा फोहोर संकलनका लागि डिजाइन गरिएका छन्। शहरको वास्तविक आवश्यकता अनुसार तयार गरिएका यी गाडीहरूले कार्यक्षमता र सञ्चालन सहजतालाई उच्च प्राथमिकता दिएका छन्।
महानगरले यी गाडी प्रयोगसँगै फोहोर संकलन टोलीको संरचना समेत सुधार गरेको जनाएको छ। पहिले तीन जनाको टोली आवश्यक पर्ने काम अब दुई जनाले नै प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने भएको छ। यसले श्रम व्यवस्थापनमा सुधार ल्याउनुका साथै लैङ्गिक समावेशी रोजगारीका अवसर विस्तारमा पनि सहयोग पुर्याएको छ।
महानगरका मेयर चिरिबाबु महर्जन ले शहरलाई प्रदूषणमुक्त बनाउने लक्ष्यअनुसार विद्युतीय गाडीको खोजी गरिरहेको अवस्थामा फोटोनले उपयुक्त समाधान दिएको बताए। उनले यो पहलले वातावरण संरक्षणसँगै आधुनिक शहरी व्यवस्थापनमा नयाँ दिशा दिने विश्वास व्यक्त गरे।
त्यस्तै, एमएडब्लू वृद्धी कमर्शियल भेहिकल प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत अनिल बराल ले नेपालमै पहिलोपटक ईभीमा आधारित फोहोर व्यवस्थापन कार्यान्वयनमा आएकोमा खुशी व्यक्त गरे। ललितपुरजस्तो सहरसँग सहकार्य गर्न पाउँदा कम्पनी गौरवान्वित भएको उनको भनाइ छ।
एमएडब्लू वृद्धिको देशभर १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्र र १७१ भन्दा बढी DC फास्ट चार्जिङ स्टेसनको सञ्जाल रहेको कम्पनीले जनाएको छ। यसले ईभी इकोसिस्टम विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस