नयाँ वर्ष २०८३ सुरु भएसँगै नेपालको पुँजीबजारमा बहुप्रतीक्षित नीतिगत सुधार आजदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले वैशाख ७ गते सोमबारदेखि लगानीकर्तामैत्री र आधुनिक प्रणालीमा आधारित पाँच महत्वपूर्ण व्यवस्था लागू गरेको जनाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा गरिएको संशोधन स्वीकृत भएसँगै यी सुधारहरू लागू भएका हुन्। नयाँ व्यवस्थाले बजारको कार्यशैलीमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।
आजदेखि लागू भएको नयाँ प्रणालीअन्तर्गत अब नियमित कारोबार समय (बिहान ११ देखि दिउँसो ३ बजेसम्म) बाहेक पनि ‘आफ्टर मार्केट अर्डर’ राख्न सकिने भएको छ। यस व्यवस्थाले विशेष गरी विदेशमा रहेका नेपाली तथा कार्यव्यस्त लगानीकर्तालाई सेयर कारोबारमा सहज पहुँच प्रदान गर्ने विश्वास गरिएको छ।
त्यसैगरी, दैनिक मूल्य परिवर्तनको सीमा बढाएर १५ प्रतिशत पुर्याइएको छ। यसअघि १० प्रतिशतको सीमामा रहेको सेयर मूल्य अब बढी लचकताका साथ माग र आपूर्तिअनुसार निर्धारण हुने अपेक्षा गरिएको छ।
कारोबारको क्रममा एकपटकमा हुने मूल्य परिवर्तनको दायरा पनि २ प्रतिशतबाट बढाएर ३ प्रतिशत कायम गरिएको छ। यसले मूल्य निर्धारण प्रक्रिया अझ छिटो र यथार्थपरक हुने विश्वास गरिएको छ।
बजार खुल्नुअघि हुने प्रि-ओपन सेसनमा पनि महत्वपूर्ण परिवर्तन गरिएको छ। अब बिहान १०:३० देखि १०:४५ बजेसम्म हुने यस अवधिमा सेयर मूल्य ५ प्रतिशतसम्म तलमाथि हुन पाउनेछ, जसले सुरुवाती मूल्य निर्धारणलाई यथार्थ नजिक ल्याउने अपेक्षा गरिएको छ।
यससँगै, समग्र बजारमा लागू हुने सर्किट ब्रेक प्रणालीमा पनि पुनर्संरचना गरिएको छ। नयाँ व्यवस्थाअनुसार बजार ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार स्थगन हुनेछ भने ८ प्रतिशतले घटबढ भएमा सो दिनको सम्पूर्ण कारोबार बन्द गरिनेछ। यसअघि रहेको बहु-चरणीय सर्किट प्रणाली अब प्रतिस्थापित भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस