Like us!
Follow us!
Connect us!
Watch us!

आज बुद्ध जयन्ती तथा उभौली पर्व, देशभर श्रद्धाभक्तिपूर्वक मनाइँदै

अर्थ संसार

शुक्रबार, १८ बैशाख २०८३, ०६ : ३० मा प्रकाशित

आज बुद्ध जयन्ती तथा उभौली पर्व, देशभर श्रद्धाभक्तिपूर्वक मनाइँदै

शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको त्रिसंयोग परेको पवित्र दिन २५७०औँ बुद्ध जयन्ती आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । यसैगरी, प्रकृति र पुर्खाप्रति सम्मान व्यक्त गर्ने किरात समुदायको महत्त्वपूर्ण पर्व ‘उभौली’ पनि आज देशभर उत्साहका साथ मनाइँदै छ ।

वैशाख शुक्ल पूर्णिमाका दिन पर्ने बुद्ध जयन्तीले मानव जीवनमा शान्ति, करुणा, सहिष्णुता र सदाचारको सन्देश फैलाउने विश्वास गरिन्छ । धार्मिक मान्यताअनुसार आजकै दिन राजा शुद्धोदन र रानी मायादेवीका सुपुत्रका रूपमा सिद्धार्थ गौतमको जन्म कपिलवस्तु नजिकैको लुम्बिनीमा भएको थियो । २९ वर्षको उमेरमा सम्पूर्ण सुखसयल त्यागेर ज्ञानको खोजीमा निस्काएका सिद्धार्थले भारतको बोधगयामा ज्ञान प्राप्त गरेका थिए भने कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरेका थिए । जन्म, ज्ञान र निर्वाणजस्ता तीन वटै महत्त्वपूर्ण घटना एउटै दिन परेकाले यस दिनलाई बौद्ध धर्मावलम्बीहरूले अत्यन्त पवित्र दिनका रूपमा लिने गर्दछन् ।

बुद्धले प्रतिपादन गरेका दुःख, दुःखको कारण, दुःख निरोध र निरोधको उपायसम्बन्धी चार आर्यसत्य तथा त्यसको निवारणका लागि अष्टाङ्गिक मार्ग (सम्यक दृष्टि, संकल्प, वाणी, कर्म, आजीविका, प्रयास, स्मृति र समाधि) का उपदेशहरू आज पनि उत्तिकै सान्दर्भिक मानिन्छन् । यस अवसरमा नेवार तथा बौद्ध समुदायले बुद्धका मूर्तिहरूलाई सजाएर नगर परिक्रमा गराउने, धूप, दीप, फूल तथा प्रसाद चढाउने र भजन–कीर्तन गर्ने गर्दछन् । वुद्ध जन्मस्थल लुम्बिनी सहित देशका विभिन्न गुठी तथा सांस्कृतिक संस्थाहरूले बुद्धका जीवन र शिक्षासँग सम्बन्धित झाँकी तथा नृत्य प्रदर्शन गरी सांस्कृतिक संरक्षणमा योगदान पुर्‍याउँदै आएका छन् ।

प्रकृति र पुर्खाको सम्मानमा उभौली पर्व

यसैगरी, किरात समुदायले आज प्रकृतिप्रति आस्था र पुर्खाप्रति सम्मान व्यक्त गर्ने महत्त्वपूर्ण पर्व ‘उभौली’ श्रद्धा र उत्साहका साथ मनाइँदै छ । जाडो सकिएर गर्मी सुरु भएसँगै मानिस तथा जीवजन्तुहरू उकालो क्षेत्रतर्फ सर्ने परम्परासँग यो पर्व जोडिएको छ । यसै समयदेखि खेतीपातीको सुरुवात हुने भएकाले उभौलीलाई कृषि चक्रसँग पनि जोडेर हेरिन्छ ।

पर्वको मुख्य आकर्षणका रूपमा रहेको ‘साकेला नाच (सिली)’ ले प्रकृति, ऋतु परिवर्तन र सामाजिक जीवनलाई जीवन्त रूपमा झल्काउँछ । यस अवसरमा किरात समुदायले भूमिपूजा, पुर्खापूजा तथा प्रकृतिको आराधना गर्दै वातावरण संरक्षणको सन्देश दिन्छन् । विशेषगरी सिलिचुङ, हलेसी महादेव लगायतका क्षेत्रमा विशेष कार्यक्रमहरू आयोजना गरिन्छन् भने काठमाडौँ उपत्यकामा पनि विभिन्न स्थानमा साकेला सिली प्रस्तुत गर्ने प्रचलन छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको