अपि पावर कम्पनी लिमिटेडको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा सुधार देखिएको हो ।
कम्पनीले चालु आवको चैत्र मसान्तसम्ममा ६५ करोड ८५ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको (३५ करोड ३४ लाख रुपैयाँ) को तुलनामा ८६.३ प्रतिशत बढी हो । विद्युत बिक्री र अन्य सञ्चालनबाट हुने आम्दानी १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्ष १ अर्ब १९ करोड रुपैयाँ थियो ।
सञ्चालन नाफा पनि ८७ करोड ७६ लाख रुपैयाँबाट बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ, जसले कम्पनीको आन्तरिक कार्यदक्षता सुधारिएको संकेत गर्दछ। नाफामा भएको वृद्धिसँगै लगानीकर्ताका लागि महत्वपूर्ण सूचक प्रतिशेयर आम्दानीमा पनि ठुलो सुधार आएको छ । कम्पनीको कुल सम्पत्ति १६ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । कम्पनीको दीर्घकालीन कर्जा ६ अर्ब रुपैयाँको हाराहारीमा रहेको देखिन्छ । जुन जलविद्युत परियोजनाहरूको प्रकृति अनुसार स्वाभाविक मानिन्छ ।
कम्पनीको चुक्ता पूँजी ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । कम्पनीले हाल ८.५ मेगावाटको नौगाड गाड देखि ४० मेगावाटको माथिल्लो चमेलिया जस्ता ६ वटा विभिन्न जलविद्युत र सोलार आयोजनाहरू सञ्चालन गरिरहेको छ। साथै, ८ मेगावाटको परवानीपुर सोलार आयोजना विकासको क्रममा रहेको छ । बैंकको ब्याजदर र वित्तीय खर्च ३१ करोड ८५ लाखले नाफामा केही दबाब सिर्जना गरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नटवर्थ ११५ रुपैयाँ ३२ पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस