जीवनव बीमा कम्पनीहरुको नाफामा साढे ५ प्रतिशतको गिरावट आएको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा गिरावट देखिएको हो ।
वित्तीय विवरण अनुसार १० जीवन बीमा कम्पनीहरुको नाफा बढेको छ भने ४ वटा कम्पनीको मात्रै नाफा घटेको छ । चार वटा कम्पनीको मात्रै नाफा घट्दा पनि समग्रमा नाफामा गिरावट देखिएको हो । बजारमा ठूलो हिस्सा राख्ने कम्पनीहरुको नाफामा गिरावट देखिदा समग्र जीवन बीमा क्षेत्रको नाफामा गिरावट देखिएको छ । १४ जीवन बीमा कम्पनीहरूको चालु आर्थिक वर्षको ९ महिनामा कुल ४ अर्ब ५९ करोड २० लाख रुपैयाँ नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.५५ प्रतिशत कम हो । जीवन बीमा कम्पनीहरुले ४ अर्ब ८६ करोड १७ लाख रुपैयाँ नाफा कमाएका थिए ।
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपाल लाइफ, मेट लाइफ, हिमालयन लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा भारी गिरावट देखिएको छ । यो ९ महिनाको अवधिमा सबै भन्दा धेरै नाफा घट्ने कम्पनीमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । यो कम्पनीको नाफामा ७३.९५ प्रतिशतले गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४० लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो कम्पनीको नाफा १ करोड ५४ लाख रुपैयाँ रहेको थियो । त्यस्तै चालु आर्थिक वर्षको ९ महिनामा हिमालयन लाइफको नाफा ४४.६६ प्रतिशतले घटेको छ । यो कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा जम्मा २६ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो कम्पनीको नाफा ४७ करोड २४ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा नेपाल लाइफको नाफामा २७.४० प्रतिशतले घटेको छ । यो कम्पनीले गत आर्थिक वर्षको ९ महिनामा ६२ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्षको ९ महिनामा भने यो कम्पनीले ४५ करोड ४८ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । समीक्षा अवधिमा सबै भन्दा बढी नाफा कमाउने कम्पनीका रुपमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यो कम्पनीले चैत मसान्तसम्म ४७ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा यो कम्पनीको नाफा ४६ करोड ५७ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा यो कम्पनीको नाफा ०.९९ प्रतिशतले बढी हो ।
यो अवधिमा नेशनल लाइफ इन्स्योरेन्सले ४१ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा १.९८ प्रतिशतले धेरै हो । यो कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ४० करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा आईएमई लाइफको नाफा ३६ करोड ७९ लाख रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६७ प्रतिशतले धेरै हो । यो कम्पनीको यस्तो नाफा गत आर्थिक वर्षको ९ महिनामा ३६ करोड ६३ लाख रुपैयाँ रहेको थियो । त्यस्तै सिटिजन लाइफले यो अवधिमा ३६ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ९ महिनामा यो कम्पनीको नाफा ३५ करोड ७६ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै चालु आर्थिक वर्षको ९ महिनामा एशियन लाइफले ३४ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा यो कम्पनीले ३३ करो ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै सानिमा रिलायन्स लाइफको नाफा गत आर्थिक वर्षको ९ महिनाको अवधिको तुलनामा ०.९५ प्रतिशतले बढेर ३४ करोड ८ लाख रुपैयाँ पुगेको छ । यो कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ३३ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै सन नेपाल लाइफले ३४ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको भन्दा ३.३५ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्ममा यो कम्पनीले ३२ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ९ महिनामा सूर्यज्योति लाइफको नाफा ३३ करोड ३ लाख रुपैयाँ पुगेको छ । यो गत आवको सोही अवधिको भन्दा ११.६९ प्रतिशतले धेरै हो । त्यस्तै चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा एलआईसी नेपालले ३२ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको भन्दा ३५.७८ प्रतिशतले बढी हो । यो कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा यो कम्पनीले २३ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै प्रभु महालक्ष्मी लाइफले २७ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको भन्दा १.६१ प्रतिशतले कम हो । यो कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा २७ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस