पुँजीबजारको समस्या समाधान गर्न नीतिगत सुधार आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । नीतिगत सुधार बीमा पुँजी बजारको सुधार हुन नसक्ने उनीहरुले बताएका हुन् ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नेपाल उद्योग वाणिज्य महासंघमा प्रतिनिधित्व गर्ने तथा नवनिर्वाचित सदस्यहरूको सम्मानमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा ब्रोकरहरूले नीतिगत सुधार बिना पुँजी बजार विकास हुन नसक्ने बताएका हुन् । कार्यक्रममा पुँजीबजारका प्रतिनिधिहरूले बजारको समसामयिक अवस्था र नीतिगत सुधारका विषयमा चर्चा गरे । कार्यक्रममा एसोसिएसनका अध्यक्ष सागर ढकालले धितोपत्र ऐन संशोधन गर्नुपर्ने र धितोपत्र बोर्डमा पुँजीबजार बुझेको व्यक्तिको प्रतिनिधित्व हुनुपर्ने बताए । उनले एफएनसीसीआईमार्फत पुँजीबजारको हितमा वकालत गर्नुपर्नेमा समेत जोड दिए ।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा लगानीकर्ता अम्बिका प्रसाद पौडेलले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पुँजीबजारको हिस्सा ७० प्रतिशत पुगिसकेको जानकारी दिँदै स्टक ब्रोकर एसोसिएसनलाई अझ बलियो बनाउनुपर्ने बताए । उनले पहिलो पटक महासंघमा पुँजीबजार क्षेत्रबाट ठुलो सहभागिता भएको भन्दै खुसी समेत व्यक्त गरे ।
एसोसिएसनका पूर्वअध्यक्ष सन्तोष मैनालीले हालको ‘१० कित्ते नीति’ ले बजारमा ‘कर्नररिङ’ बढाएको दाबी गर्दै यसलाई समाजवादी नीतिको संज्ञा दिए । उनले बुक बिल्डिङ विधिलाई प्रोत्साहन गर्न र आईपीओ निष्कासन नीतिमा तत्काल पुनर्विचार गर्नुपर्ने समय आएको बताए ।
अर्का पूर्वअध्यक्ष तथा महासंघका कार्यकारिणी सदस्य प्रिया राज रेग्मीले दोस्रो बजारलाई चलायमान बनाउन आवश्यक रहेको र आफूले महासंघको तर्फबाट बजारका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । नवनिर्वाचित प्रतिनिधि जुना माथेमाले एसोसिएसनले नीतिगत सुधारका काममा ध्यान दिनुपर्ने र सुझाव पेस गर्दा तीन महले ढाँचा प्रयोग गर्दा बढी प्रभावकारी हुने सुझाव दिइन् । उनले जनचेतना जगाउनका लागि छोटो भिडियोहरू बनाउन समेत आग्रह गरिन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस