Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानन्यायाधीशमा सिफारिस शर्माविरुद्ध सात उजुरी

अर्थ संसार

सोमबार, ०४ जेठ २०८३, ११ : ०६ मा प्रकाशित

प्रधानन्यायाधीशमा सिफारिस शर्माविरुद्ध सात उजुरी

संवैधानिक परिषद्‍बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि सिफारिस गरिएका न्यायाधीश मनोज कुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा सातवटा उजुरी दर्ता भएका छन्। समितिले आजसम्मका लागि दिएको अन्तिम समयसीमाभित्र ती उजुरीहरू परेका हुन्।

यसअघि संसदीय सुनुवाइ समितिले वैशाख २५ गते एक सूचना जारी गर्दै सिफारिस गरिएका शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो। सर्वसाधारण तथा सरोकारवालाहरूलाई उजुरी दिनका लागि आज (जेठ ४ गते) सम्मको समय तोकिएको थियो।

समितिका अनुसार दर्ता भएका उजुरीहरूमाथि भोलिदेखि औपचारिक रूपमा अध्ययन प्रक्रिया अघि बढाइने छ। जेठ ५ गते बस्ने समितिको विशेष बैठकमा सबै सदस्यहरूको उपस्थितिमा प्राप्त भएका उजुरीका खामहरू खोलिने तयारी छ। त्यसपछि ती उजुरीहरूलाई विस्तृत अध्ययनका लागि समितिका सबै सदस्यहरूलाई वितरण गरिने छ।

नेपालको संवैधानिक व्यवस्था अनुसार संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि गरेको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गर्नुपर्ने हुन्छ। समितिबाट नाम स्वीकृत भएपछि मात्र राष्ट्रपतिले प्रधानन्यायाधीशलाई पदमा नियुक्त गर्ने कानुनी प्रावधान रहेको छ।

गएको वैशाख २४ गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। परिषद्ले सिफारिस गरेको भोलिपल्टै अर्थात् वैशाख २५ गते नै समितिले सुनुवाइको प्रारम्भिक प्रक्रिया सुरु गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको