सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एजेन्सी डेभलपमेन्ट म्यानेजर (ADM) हरूलाई लक्षित गर्दै एएमएल/सीएफटी (AML/CFT) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ‘ADM 360° Growth Summit 1.0’ अन्तर्गत आयोजित उक्त प्रशिक्षण कम्पनीका कानुन विभाग प्रमुख सुभाष भण्डारीले सञ्चालन गरेका थिए ।
प्रशिक्षणमा मनी लाउन्डरिङ तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी विद्यमान कानुनी व्यवस्था, नियामकीय प्रावधान, शंकास्पद कारोबार पहिचान तथा वित्तीय अनुशासनका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा बीमा क्षेत्रलाई पारदर्शी, जिम्मेवार तथा नियामक निकायको मापदण्डअनुसार सञ्चालन गर्न एजेन्सी तहको भूमिका महत्वपूर्ण रहने विषयमा समेत जोड दिइएको थियो । साथै, ग्राहक पहिचान प्रक्रिया (KYC), जोखिम मूल्याङ्कन तथा शंकास्पद कारोबार रिपोर्टिङका विषयमा व्यवहारिक जानकारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।
प्रशिक्षणका क्रममा कानुनी विभाग प्रमुख सुभाष भण्डारीले वित्तीय अपराध नियन्त्रण तथा संस्थागत सुशासन कायम गर्न एएमएल/सीएफटीसम्बन्धी सचेतना र अनुपालन अत्यन्त आवश्यक रहेको बताए । उनले बीमा व्यवसायमा विश्वसनीयता र पारदर्शिता कायम राख्न सम्पूर्ण अभिकर्ता तथा व्यवस्थापकीय तह जिम्मेवार बन्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा सहभागीहरूले यस्तो प्रशिक्षणले नियामकीय विषयप्रति आफ्नो बुझाइ थप स्पष्ट हुनुका साथै व्यवसाय सञ्चालनमा जिम्मेवारीबोध बढाएको प्रतिक्रिया दिएका थिए ।
सन नेपाल लाइफ इन्स्योरेन्सले आगामी दिनमा पनि कर्मचारी तथा एजेन्सी संरचनालाई नियामकीय व्यवस्था, सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी ज्ञान र सचेतनामा थप सशक्त बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । हाल कम्पनीका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस