सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुलभ खरेलले चलचित्रमा समावेश गरिने ‘न्यूड सिन’प्रति सेन्सर बोर्ड केही लचक हुनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले नेपालमा नियमनका नाममा धेरै चलचित्र प्रतिबन्धित गरिएको दाबी पनि गरे। आज संसद बैठकमा चलचित्र विधेयकमाथिको बहसमा भाग लिँदै खरेलले यस्तो धारणा राखेका हुन्। कानून व्यवसायीसमेत रहेका उनले कुन–कुन चलचित्र र के आधारमा प्रतिबन्धित गरिएका हुन् भन्ने उदाहरण भने प्रस्तुत गरेनन्।
उनले चलचित्रमा देखाइने न्यूड दृश्यको मूल्यांकन गर्दा त्यसको उद्देश्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए। यदि त्यस्ता दृश्य यौन उत्तेजना फैलाउने उद्देश्यले राखिएका छन् भने मात्रै रोक लगाउनुपर्ने उनको सुझाव थियो।
उनले भने, ‘एउटा सिन मात्रै हेरेर न्यूड छ कि छैन, एक्स्प्लिसिट छ कि छैन भनेर बोर्डले रोक लगाइरहेको अवस्था छ । समग्रतामा एउटा एपिसोड मात्र नभएर सिंगो फिल्मलाई नै हेरेर निर्णय गर्नुपर्छ । उक्त सामग्रीले यौन उत्तेजनालाई प्रधान उद्देश्य मानेको छ भने रोक्नुपर्छ, नत्र रोक्नु हुँदैन । जस्तो विदेशी फिल्ममा रोकावट देखिँदैन, तर नेपालको बोर्डले रोक्छ । हो, आपत्तिजन्य यौनजन्य आचरण देखाएको छ भने रोक्नुपर्छ । तर त्यस्ता सामग्री जसले कथा, चरित्र विकास, कलात्मक चरित्रको हिस्सा छ भने त्यस्तोमा निषेध गर्नुहुँदैन । बरु त्यसलाई वर्गीकरण गर्नुपर्छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस