Like us!
Follow us!
Connect us!
Watch us!

बैंकको ग्राहक तान्ने फर्मुला : अग्रिम व्याज देखि रिचार्ज कार्डसम्म

शुक्रबार, ०९ चैत्र २०७४, १३ : १८ मा प्रकाशित

बैंकको ग्राहक तान्ने फर्मुला : अग्रिम व्याज देखि  रिचार्ज कार्डसम्म

अर्थ संसार, काठमाडौं– दुई साताअघि एनआइसी एसिया बैंकले व्याजदर बढाएर बचतमा १० र मुद्दतीमा १२ प्रतिशतसम्म पुर्यायो। जसको विरोध गर्दै अरु सबै बैंकहरुले उसँग बैंकिङ कारोबार नगर्ने निष्कर्षमा पुगे र त्यसको एक हप्तामै व्याजदर घटाउन बैंक बाध्य भयो।

व्याजदर नबढाउनेगरी आफैले गरेको भद्र सहमति तोड्दा नैतिक संकट समेत हुने भएपछि निक्षेप जरुरत भएका बैंकहरुले व्याजदरको साटो अब अरु अफर ल्याएर ग्राहक तान्न थालेका छन्।

लगानीयोग्य रकमको अभावका बाबजुत मुद्दतीमा ११ र बचतमा ८ प्रतिशत बढी व्याजदर दिन नमिल्नेगरी बाँधिएका बैंकहरु अन्य आकर्षक अफर ल्याएर निक्षेप तान्ने प्रयासमा लागेका हुन्।

उनीहरुका अफरमा रिचार्ज कार्डदेखि एक वर्षको अग्रिम व्याज रकम दिनेसम्मका छन्।

बैंकहरुले खातामा ल्याएको प्रतिस्पर्धात्मक अफरबाट ग्राहकले व्याजदरको साटो अन्य लाभ उठाउन सक्ने एनआइसी एसिया बैंकका असिस्टेन्ट सिइओ सुधिर पाण्डेले बताए। ‘अफरले हामीलाई लागत बढाएको हुन्छ, तर ग्राहकले लाभ लिन पाउने भएकाले त्यसमै सन्तुष्ट छौँ’ पाण्डेले भने।

एनआइसी एसिया बैंकले न्यूनतम मौज्दात १ हजार रुपैयाँ राख्नेगरी ‘प्रिमियम समुन्नती’ बचत खाता खोल्दा १ सय रुपैयाँको रिचार्ज कार्ड दिने योजना ल्याएको छ। १ हजार रुपैयाँलाई नै आधार बनाउने हो भने १० प्रतिशत व्याजदर बराबरको रिचार्ज ग्राहकले खाता खोल्दा नै पाउने छन्।

८ प्रतिशत व्याजदर त्यसमा छँदैछ, जुन महिनैपिच्छे बैंकले प्रदान गर्ने जनाएको छ। तीन महिनासम्म व्याज रकम कुर्नुपर्ने वाध्यता यसमा रहँदैन।

सामान्यतः बैंकहरुले बचतमा तीन तीन महिनामा र मुद्दतीमा निश्चित अवधि सकिएपछि मात्रै व्याजदर प्रदान गर्ने गरेका छन्।

यस अफरमै निशुल्क डेविट वा क्रेडिट कार्ड ग्राहकले पाउने छन्। सामान्यतः कार्डका लागि बैंकहरुले २ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म लिने गर्दछन्। बैंकलाई नै एउटा कार्डको लागत ७० रुपैयाँको हाराहारीमा पर्ने पाण्डेले बताए।

प्राप्त कार्डलाई जति पटक जुनसुकै एटिएमबाट पैसा निकाले पनि कुनै शुल्क नलाग्ने एनआइसीले जनाएको छ। पाण्डेका अनुसार ग्राहकबाट शुल्क नलिए पनि आफूहरुले आवद्ध नेटवर्कलाई भने पैसा तिर्नुपर्नेछ। यसबाट पनि लागत थपिने उनले बताए।

हाल सामान्यतः नेटवर्कका हिसावले एउटा बैंकको कार्ड अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा २० रुपैयाँदेखि २५० रुपैयाँसम्म काटिने गर्दछ।

त्यस्तै यो खाता खोल्नेलाई निशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था बैंकले गरेको छ। डिम्याट खाता खोल्नका लागि निक्षेप सदस्यहरुले सामान्यतः डेढ सय रुपैयाँसम्म लिने गर्दछन्। साथै प्रत्येक वर्ष डेढ सय रुपैयाँ तिरेर खाता नवीकरण गर्नुपर्दछ।

‘प्रिमियम समुन्नति बचत’ खाता खोल्नेलाई ५ लाख रुपैयाँसम्मको दुर्घटना बिमा पनि बैंकले प्रदान गर्ने जनाएको छ। अर्थात योजना रहुन्जेलसम्म दुर्घटनामा परी खातावालको मृत्यु भएमा खातावालले खातामा रहेको मासिक औसत मौज्दातको ५ गुणासम्म वा अधिकतम ५ लाखसम्मको बीमा प्राप्त गर्ने कम्पनीले जनाएको छ।

त्यस्तै नविलले खाता खोल्नेवित्तिकै जम्मा भएको रकमको १ वर्षको व्याजदर अग्रिम रुपमा प्रदान गर्नेगरी मुद्दती खाताको स्कीम ल्याएको छ। ग्राहकले त्यो व्याजलाई पुनः जम्मा गरेर थप व्याज लिन पाउने छन्। यसका लागि न्यूनतम व्याजदर भने ५ लाख तोकिएको छ।

यदी बैंकमा ५ लाख रुपैयाँ राखेर खाता खोल्ने हो भने ११ प्रतिशतले हुने व्याजदर ५५ हजार पहिले नै भुक्तानी हुन्छ। यो रकममा ‘क्यापिटल गेन ट्याक्स’ ५ प्रतिशत तिर्नुपर्छ, जुन निक्षेपका सबै व्याजमा ग्राहकले तिर्दै आएका छन्।

पाएको ब्याज रकमलाई पुनः अर्को खातामा राखेर त्यसवापत फेरि ११ प्रतिशतसम्मकै व्याज लिन पाइने छ। यस हिसावले हेर्ने हो भने एउटै रकमको एकमुष्ठ व्याजदर वार्षिक १२ दशमलव २ प्रतिशत हुन आउँछ।

११ प्रतिशतको सीमा पनि नमिचिने ग्राहकले पनि लाभ लिन पाउनेगरी योजना ल्याएको नविलले जनाएको छ। व्यवसाय विस्तार गर्नका लागि यो अफर ल्याइएको बैंकको भनाइ छ।

ग्लोबल आइएमईले पनि बचतमा ८ प्रतिशत व्याजदरमा एनआइसीको जस्तै ५ लाखसम्मको दुर्घटना बिमा योजना ल्याएको सोतोपाटीमा समाचार छ ।  भिसा तथा क्रेडिट कार्डमा ५० प्रतिशत छुट पाइने बैंकले जनाएको छ। कुमारी बैंक तथा सिभिल बैंकले पनि बचतमा ८ प्रतिशत व्याजदरमा खोल्ने खातामा निशुल्क भिसा कार्ड दिँदै आएका छन्। सेतोपाटीबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको