नेपाल राष्ट्र बैंकले आज ७० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ७७ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार उक्त रकम संकलनका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ। बैंक तथा वित्तीय संस्थाहरूले प्रतिस्पर्धात्मक ब्याजदर प्रस्ताव गर्दै बोलकबोलमा सहभागी हुन सक्नेछन्।
यो निक्षेप संकलन उपकरणको अवधि ७७ दिन रहनेछ। उक्त अवधिको साँवा तथा ब्याज आगामी भदौ ५ गते एकमुष्ट भुक्तानी गरिनेछ।
निक्षेप राख्न इच्छुक संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। अधिकतम रकम भने ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमको सीमाभित्र रहनेछ। केन्द्रीय बैंकले बोलकबोल ब्याजदरका आधारमा निक्षेप संकलन गर्ने जनाएको छ। साथै, एउटै संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी प्रस्ताव पेश गर्न सक्ने व्यवस्था पनि गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई मात्र सहभागी हुन अनुमति दिइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस