उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाबाट जनताको अपेक्षा र भरोसा पूरा नहुने बताएका छन्। पार्टीको पहिलो युवा भेला तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सफल होस् भन्ने चाहना भए पनि हालसम्मका कामकारबाही सन्तोषजनक नभएको टिप्पणी गरे।
उनले भने, ‘जनताले परिवर्तन खोजिरहेको छन्, परिवर्तनको लागि दुई तिहाइ मत दिएका छन्। यो सरकार सफल होस् भन्ने सुझाव छ। तर, सरकारले राम्रोसँग काम गर्न सकेन भनेर जनतालाई निराश हुन दिँदैनौँ। त्यसको प्रतिवाद गर्छौँ , हामी जनताको सबै समस्या सम्बोधन गर्ने गरी अघि बढ्छ।’
उनले पुराना पार्टीहरू नयाँको विकल्प हुन नसक्ने दाबी गर्दै रास्वपाको विकल्प उज्यालो नेपाल पार्टी नै भएको बताए। साथै, स्थानीय र प्रदेश तहका चुनावमा पार्टीले स्पष्ट कार्ययोजनासहित सहभागी हुने जानकारी दिए।
उनले भने, ‘हिजो चुनावमा हामी, सङ्घीय संसद्को चुनावमा, सङ्घीय संसद्को चुनावमा हाम्रो छोटो समयको तयारी र विभिन्न षड्यन्त्रमा हामी बीचमा फस्न पनि गयौँ। विभिन्न कारणले हामीले उज्यालो नेपाल पार्टीलाई जिताउन सकेनौँ। हाम्रा साथीहरू जित्न सकेनन्। तर उज्यालो नेपाल पार्टी हारेर पनि जितेको पार्टी हो। हरेक हरेक नागरिकको मनमा उज्यालो नेपाल पार्टी भित्र मनदेखि नै विश्वासको पात्र बनेको छ।’
घिसिङले सरकारले राम्रो काम गरे समर्थन जारी रहने बताउँदै, एक पटकको हारलाई अन्तिम हार नमान्ने धारणा पनि व्यक्त गरे।
उनले थपे, ‘हामी एकचोटि हार्यौँ, हारबाट अब जित सुनिश्चित गर्दै छौँ हामी। अब अँध्यारोबाट उज्यालो तर्फ लाग्दै छौँ। रात परेपछि दिन आउँछ, बिहानपछि दिन आउँछ। उज्यालो नेपाल पार्टी निरन्तर अगाडि बढ्छ। तपाईँहरूले उज्यालो नेपाल पार्टी अहिले कतै हरायो कि? भन्ने विभिन्न पत्रकार साथीहरूले मलाई सोध्ने पनि गर्ने गरेका छन्। तर उज्यालो नेपाल पार्टी हराएको छैन।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस