नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका विद्यमान परिवर्तन र चुनौतीहरूको सामना गर्न व्यवहारिक नीतिगत लचकता, उद्यम उत्पादकत्व वृद्धि र सुदृढ त्रिपक्षीय सहकार्य आवश्यक रहेको बताएका छन्। स्विट्जरल्यान्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ११४औँ सत्रमा नेपालको रोजगारदाता परिषदको तर्फबाट मंगलबार सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले उक्त धारणा राखेका हुन्।
उनले नेपाल हाल महत्वपूर्ण आर्थिक संक्रमणको चरणबाट गुज्रिरहेको उल्लेख गर्दै सरकारले सुशासन, लगानी प्रवर्द्धन तथा पूर्वाधार विकासमा प्रतिबद्धता देखाए पनि आन्तरिक बजारमा सुस्त आर्थिक वृद्धि, सीमित औद्योगिक विकास र बढ्दो व्यावसायिक लागत जस्ता चुनौती कायमै रहेको बताए । ‘नेपालको युवा जनशक्ति रोजगारीका लागि वैदेशिक गन्तव्यतर्फ पलायन भइरहेको छ, यो चिन्ताको विषय हो,’ उनले भने ।
उनका अनुसार लगानीमैत्री नीति, सीप विकास र शिक्षालाई श्रम बजारको वास्तविक मागसँग जोडेर स्वदेशमै मर्यादित र उत्पादकमूलक रोजगारीका अवसर सिर्जना गर्न आवश्यक छ । परिवर्तित विश्व परिवेश र डिजिटल अर्थतन्त्रको चर्चा गर्दै उनले अनलाइन व्यवसाय, राइड-शेयरिङ र डेलिभरी प्लेटफर्म जस्ता डिजिटल सेवामा युवाहरूको संलग्नता बढिरहेको बताए । यसले नयाँ उद्यमशील अवसर सिर्जना गरे पनि श्रम मापदण्ड र सामाजिक सुरक्षाका विषयमा नयाँ चुनौती देखिएको उनको भनाइ छ ।
नेपाल जस्ता विकासशील देशहरूलाई कठोर विश्वव्यापी मापदण्ड थोपर्नुभन्दा राष्ट्रिय यथार्थ र आर्थिक अवस्थाअनुसार श्रम सुधार तथा कानुनी व्यवस्था लागू गर्न लचकता आवश्यक रहेको उनले बताए । रोजगारदाताका प्राथमिकता र प्रयासबारे जानकारी दिँदै उनले राष्ट्रिय व्यावसायिक सुरक्षा तथा स्वास्थ्य कार्ययोजना लागू भएपछि सुरक्षित कार्यस्थलप्रतिको चेतना बढेको उल्लेख गरे। यसअन्तर्गत चिया र अलैंची जस्ता क्षेत्रका लागि विशेष निर्देशिका निर्माणको काम अघि बढाइएको छ ।
त्यस्तै, महासंघले छनोट गरिएका उद्योगमा ‘केयर मोडल’ पाइलट परियोजना सञ्चालन गरिरहेको जानकारी दिँदै उनले यसले विशेषगरी महिलाका लागि रोजगारीका अवसर सिर्जना गर्न र सामाजिक समावेशीकरण बढाउन सहयोग पुग्ने बताए । बाढी, पहिरो र जलवायु परिवर्तनका कारण उद्योग, कृषि र जीविकोपार्जनमा परेको असरलाई ध्यानमा राख्दै उनले हरित रोजगारी र जलवायु जोखिममा रहेका मुलुकलाई प्राविधिक सहयोग आवश्यक रहेको बताए ।
त्यसैगरी, मध्यपूर्वमा जारी भू-राजनीतिक तनावले रेमिट्यान्स, आयात र पर्यटनमा निर्भर नेपाली अर्थतन्त्र प्रभावित भइरहेको उल्लेख गर्दै उनले रोजगारीको रक्षा र व्यवसायको निरन्तरताका लागि संवाद र सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिए ।
उपाध्यक्ष पाण्डेले उत्पादकत्व वृद्धि, सीप विकास र नवप्रवर्तनका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँग दीर्घकालीन प्राविधिक सहयोगको माग गर्दै महासंघ सामाजिक संवाद र मर्यादित श्रमप्रति प्रतिबद्ध रहेको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस