Like us!
Follow us!
Connect us!
Watch us!

बिस्केट जात्रामा सिसी क्यामरा

आइतबार, ११ चैत्र २०७४, १७ : ०१ मा प्रकाशित

बिस्केट जात्रामा सिसी क्यामरा

रमेश गिरी\

अर्थ संसार, भक्तपुर– भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्राको तयारी तीव्र रुपमा भएको छ ।

विक्रम संवत्अनुसार सौरमासका आधारमा चल्ने सो जात्रा नववर्षको चार दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी आगामी वैशाख ५ गते रथ तानेर सम्पन्न गरिन्छ ।

गुठी संस्थानले रु तीन लाख २६ हजार खर्चेर सूर्यविनायक नगरपालिका चित्तपोलस्थित सल्लाघारीको वनबाट बिस्केट जात्राका लागि आवश्यक पर्ने लिङ्गो भेलुखेलस्थित ल्यासिंखेलमा ल्याइपु¥याएको छ भने बिस्केटको रथसमेत निर्माण शुरु भएको छ ।

यही चैत २७ देखि वैशाख ५ गतेसम्म मनाइने जात्राका लागि भक्तपुर तौमढीस्थित पाँचतले मन्दिर परिसरमा प्यागोडा शैलीमा भैरव र भद्रकालीको रथ निर्माण शुरु भएको गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

भैरव र भद्रकाली रथको माथिल्लो छानोको धुरा भाँच्चिएर रथ जीर्ण भए पनि यस वर्ष रथले नयाँ काठ भने नपाउने भएको छ । रथ मर्मतका लागि बारा अमलेखगञ्जस्थित सामुदायिक वनबाट ४५८ क्युफिट काठ ल्याइए पनि समयाभावका कारण यस वर्ष पुरानै काठबाट रथ निर्माण एवं मर्मत गरिनेछ । अर्को साल भने जीर्ण भएका ठाउँमा नयाँ काठको प्रयोग गरी रथ निर्माण गरिने सुवेदीले बताउनुभयो ।

जात्रा सम्पन्न गर्न करीब रु बीस लाख खर्च हुने अनुमान गरिएको छ । जात्रालाई ढुंगा हानाहान हुन र हिंसाबाट जोगाउन रथ तान्ने मार्गमा यस वर्ष पनि सिसी क्यामरा जडान गरिने छ । जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रजिअ द्रोण पोखरेलको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधि, जात्रासँग सम्बन्धित स्थानीय व्यक्ति, सुरक्षा निकायका प्रमुख एवं सरोकार भएका कार्यालयका प्रतिनिधि सम्मिलित बैठकले रथको मार्ग छोट्याउने निर्णय गरेको छ ।

जात्राको शुरु र अन्तिम दिन साँझ गँहिटीबाट रथ तान्ने क्रममा माथिल्लो र तल्लो भेकका बासिन्दाबीच रथलाई आआफ्नो क्षेत्रमा तान्ने क्रममा ढुंगा हानाहान हुने गरेको छ । गत वर्ष २४ सिसी क्यामरा जडान गरिएको र यस वर्ष आवश्यक स्थानमा थप सिसी क्यामरा जडान गर्ने तयारी गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

जात्राको मार्ग गँहिटीबाट थने (माथिल्लो) टोल क्वाछें, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रय तथा क्वने (तल्लो) टोल टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशंगोपाल, तेखापुखुमा सिसी क्यामरा जडान गरिने छ ।

गत वर्ष रथ तान्ने क्रममा एक जनाको ज्यान गएको थियो । ढुंगा हान्ने, हतियार देखाउने र होहल्ला गर्नेलाई सिसी क्यामराको सहयोगमा गत वर्ष कारवाही गरिएको थियो ।

मध्यपुरथिमिमा पनि जात्रा व्यवस्थित गर्न नगरपालिका आफैँ सक्रिय भएको छ । नगरपालिकाले नगर प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा जात्रा व्यवस्थित बनाउन छलफल गरेको छ । बोडेको महालक्ष्मीमा लिङ्गो उठाउने, सिन्दूरजात्रा मनाउने, २६ खट जात्रा गर्ने, जिब्रो छेड्ने लगायत जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक तयारी शुरु भएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको