अर्थ संसार, धनकुटा–मानवीय लापर्बाहीका कारण जिल्लाका विभिन्न १३ सामुदायिक वनमा लागेको डढेलोबाट करीव रु दुई करोडको क्षति भएको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाले जनाएको छ ।
सात स्थानीय तह रहेको धनकुटामा ३४६ सामुदायिक वन मध्ये १३ वटा वन जलेर पूर्ण नष्ट हुँदा वन क्षेत्रमा रहेका बिरुवा एवं जडीबुटी जलेर नष्ट हुँदा करीव रु दुई करोड बराबरको क्षति भएको वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।
जिल्लाका छथर जोरपाटीको भञ्ज्याङडाँडा सामुदायिक वनको १०० हेक्टर, धनपा–५ को बडरे ३६ हेक्टर, धनपा–१० को पात्ले सामुदिायक वनको ६० हेक्टर, चौबिसे गाउँपालिका ठूलीभिर सामुदायिक वनको १९१ हेक्टर चौविसेका–४ को देउराली सामुदायिक वनको २० हेक्टर छथर जोरपाटिको सिवुवा ताक्लाखर्क ६७७ हेक्टर सोही क्षेत्रको पाथीभरा सामुदायिक वनको ५०० हेक्टर वन डढेलोका कारण पूर्ण नष्ट भएका छन् ।
धनपा–९ को रुद्रबारी सामुदायिक वनको २५ हेक्टर धनपा–९ को रधुटार ३६ हेक्टर र विश्रान्ती समुदायिक वनको केही क्षेत्रसमेत डढेलेको कारण क्षति भएको छ । जिल्लाको शहीदभूमि गाउँपालिकामा रहेको पञ्चकन्या सामुदायिक वनमा लागेको आगोमा परेर शहीदभूमि–२ का ५१ वर्षीय बानु छारा राईको मृत्यु भएको थियो भने धनकुटा नगरपालिका–९ बेलहाराको जलकन्या सामुदायिक वनबाट बस्तीतर्फ गएपछि पाँच गोठ र चार घर आगलागीमा परेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
मानवीय कमजोरीका कारण विगत वर्षमा भन्दा यस वर्ष धनकुटामा ठूलो क्षति हुने गरेको मिश्रको भनाइ रहेको छ । सुख्खा मौसम भएका कारण आगामी जेठ महिनासम्म विभिन्न क्षेत्रमा आगलागीबाट क्षति हुने सम्भावनालाई ख्याल गरी सचेत गराउन धनकुटा जिल्लाका स्थानीय सञ्चार माध्यमबाट सूचना प्रवाह गरिएको जिल्ला वन अधिकृत कृष्णप्रसाद वस्तीले बताउनुभयो ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस