राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं कानुनमन्त्री सोविता गौतमले पार्टीले अघि सारेको नयाँ शासकीय स्वरूपको प्रस्तावमाथि राजनीतिक दलहरूसँग प्रारम्भिक छलफल सुरु भएको बताएकी छन्।
रास्वपाको महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेशसभा खारेजीसहितको रास्वपाको प्रस्ताव सिधै संविधान संशोधनसँग जोडिएकाले यसमा व्यापक छलफलको आवश्यकता रहेको बताइन्।
मन्त्री गौतमका अनुसार यो प्रस्तावमाथि दलहरूबीच हुने बहस र सहमतिले नै आगामी निष्कर्ष तय गर्नेछ। रास्वपाले देशमा शासकीय स्थिरता ल्याउन र राज्यको वित्तीय भार कम गर्न यो नयाँ शासकीय मोडेल अघि सारेको हो। सोविताले महाधिवेशनमा ढिलाइ भएको स्वीकारिन्।
उनले भनिन्, ‘छलफल भइरहेको विषयवस्तु हो। संविधान संशोधनसँग पनि जोडिएको विषयवस्तु भएकाले अहिले भइरहेको छ। प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भइरहेकै विषयवस्तु हो। कहाँ गएर सहमति हुन्छ, त्यसले आगामी दिनमा तय हुन्छ। धेरैलाई लामो समय बस्नुपर्दा असहज भयो । त्यसकारण फर्किनुभएको छ भन्ने रिपोर्टिङ हामी कहाँ भएको छ। यद्यपि धेरै साथीहरू पार्टी बनाउनुपर्छ, हामीले नै बनाउने हो भनेर बसिराख्नुभएको छ ।’
उनले दोस्रो चरणको निर्वाचन पनि आजै सक्नेगरी तयारी भइरहेको बताइन्। दोस्रो चरणमा आफूले पनि उम्मेदवारी दिने भन्दै उम्मेदवारी दिएपछि मात्रै पदको जानकारी दिने गौतमको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस