बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितो कर्जामा वृद्धि देखिए पनि त्यसको सकारात्मक प्रभाव पूँजीबजारमा भने प्रतिबिम्बित हुन सकेको छैन। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा आधारित कर्जा प्रवाह बढाएका छन् । तर दोस्रो बाजारको वास्तविक अवस्था भने अझै सुस्त देखिएको छ।
चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ४७ वटा बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्ताहरूले कुल १ खर्ब ६२ अर्ब ५३ करोड ९३ लाख रुपैयाँ सेयर धितो कर्जा लिएका छन्। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.०१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको वैशाख मसान्तसम्म वित्तीय संस्थाहरूले १ खर्ब ५६ अर्ब २७ करोड ९३ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए। बैंकिङ प्रणालीबाट पूँजीबजारतर्फ रकम प्रवाह भइरहेको सङ्केत मिले पनि दोस्रो बजारको परिसूचक र कारोबारले त्यसलाई बल पुर्याउन सकेको छैन।
सामान्यतया सेयर धितो कर्जा अन्तर्गत लगानीकर्ताले आफ्नो स्वामित्वमा रहेका सूचीकृत सेयर धितो राखेर वा भविष्यमा खरिद गरिने सेयरको आधारमा कर्जा सुविधा पाउने गर्छन्। यसरी लिइने कर्जाको उपयोगमा कुनै कडा सीमा नहुने भएकाले कर्जाको सम्पूर्ण हिस्सा पुनः सेयर बजारमै प्रवेश गरेको छ भन्ने ठोस आधार देखिँदैन। पछिल्लो समय डिम्याट खातावाला र बजारमा सहभागी लगानीकर्ताको सङ्ख्या उल्लेख्य बढे पनि नेप्से परिसूचक र दैनिक कारोबार रकम भने संकुचित अवस्थामै छ। नयाँ सरकार गठनसँगै लगानीकर्ताले पूँजीबजार सुधार, नीतिगत स्थिरता र लगानीमैत्री वातावरणको ठूलो अपेक्षा गरेका थिए। तर, बजारको आकाङ्क्षाअनुसार ठोस नीतिगत सुधार नआउँदा र नियामक निकायका विभिन्न निर्णयमा अन्योल कायम रहँदा लगानीकर्तामा मनोवैज्ञानिक दबाब कायमै छ। यही अविश्वासका कारण सेयर धितोमा लिइएको कर्जाको ठूलो हिस्सा पूँजीबजार बाहिर अन्य क्षेत्रमा मोडिएको अनुमान गरिएको छ।
तथ्याङ्कअनुसार यस अवधिमा २७ वटा बैंक तथा वित्तीय संस्थाको सेयर धितो कर्जा प्रवाह बढेको छ भने २० वटाको घटेको छ।
नबिल बैंक शीर्ष स्थानमा, अरूको अवस्था कस्तो ?
सेयर धितोमा सर्वाधिक कर्जा लगानी गर्नेमा नबिल बैंक अग्रस्थानमा देखिएको छ। बैंकको यस्तो कर्जा १.२९ प्रतिशतले बढेर १७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। यसैगरी, ग्लोबल आइएमई बैंकको सेयर धितो कर्जा ७.७२ प्रतिशतले वृद्धि भई १४ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ।
अन्य बैंकहरूमा कुमारी बैंकको कर्जा ३.७८ प्रतिशतले बढेर १० अर्ब ९१ करोड, प्राइम बैंकको ३.०४ प्रतिशतले बढेर ९ अर्ब ८२ करोड, सिद्धार्थ बैंकको २.३८ प्रतिशतले बढेर ९ अर्ब ६ करोड, कृषि विकास बैंकको ६.८० प्रतिशतले बढेर ८ अर्ब ७० करोड र राष्ट्रिय वाणिज्य बैंकको ४.४४ प्रतिशतले बढेर ८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। यता लक्ष्मी सनराइज बैंकको सेयर धितो कर्जा भने ०.२७ प्रतिशतले घटेर ९ अर्ब ५० करोड रुपैयाँमा सीमित भएको छ।
कुनको कति ?

कुनको कति ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस