Like us!
Follow us!
Connect us!
Watch us!

भेनेजुएलाको विनाशकारी भूकम्प: मृत्यु हुनेको संख्या १,४५० पुग्यो, जीवित उद्धारको सम्भावना घट्दै

अर्थ संसार

सोमबार, १५ असार २०८३, ०७ : ३८ मा प्रकाशित

भेनेजुएलाको विनाशकारी भूकम्प: मृत्यु हुनेको संख्या १,४५० पुग्यो, जीवित उद्धारको सम्भावना घट्दै

भेनेजुएलामा गत बुधबार गएको शक्तिशाली दुईवटा भूकम्पपछि मृत्यु हुनेको संख्या १ हजार ४५० पुगेको छ। उद्धार टोलीहरूले भग्नावशेषमा पुरिएकाहरूको खोजीलाई तीव्र बनाइरहेका भए पनि समय बित्दै जाँदा जीवित व्यक्तिहरू फेला पार्ने सम्भावना कमजोर हुँदै गएको विज्ञहरूले बताएका छन्।

सबैभन्दा बढी प्रभावित ला ग्वाइरा राज्यमा अमेरिका, मेक्सिको, कोलम्बियालगायत विभिन्न देशका उद्धार टोली परिचालन गरिएका छन्। सयौं भवन भत्किएका कारण भग्नावशेष हटाएर मानिसहरूको खोजी कार्य अझै जारी छ।

अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार हालसम्म १,४५० जनाको मृत्यु पुष्टि भएको छ। उनका अनुसार ३ हजार १५० जना घाइते भएका छन् भने १२ हजार ७२१ जना विस्थापित भएका छन्। भूकम्पका कारण ७७४ वटा भवन क्षतिग्रस्त भएका छन्, जसमध्ये १८९ वटा पूर्ण रूपमा ध्वस्त भएका छन्।

राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले जीवित व्यक्तिको उद्धारका लागि प्रत्येक क्षण महत्वपूर्ण रहेको बताएका छन्। उनले घरबारविहीन बनेकाहरूका लागि अस्थायी शिविर निर्माणसँगै खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको जानकारी दिएका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले ७.२ र ७.५ म्याग्निच्युडका लगातार दुई भूकम्पका कारण मृत्यु हुनेको संख्या १० हजारभन्दा बढी पुग्न सक्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको थियो। यदि त्यस्तो भयो भने यो भूकम्प पछिल्लो एक शताब्दीमा ल्याटिन अमेरिकाका सबैभन्दा घातक प्राकृतिक विपत्तिमध्ये एक बन्नेछ।

उद्धार विज्ञहरूका अनुसार भूकम्पपछि पहिलो ७२ घण्टा जीवित व्यक्तिहरूलाई सुरक्षित उद्धार गर्ने सबैभन्दा महत्वपूर्ण समय मानिन्छ। स्विस उद्धार टोलीका प्रमुख सेबास्टियन एउग्स्टरले ७२ घण्टापछि भग्नावशेषमा जीवित भेटिने सम्भावना उल्लेखनीय रूपमा घट्ने बताएका छन्।

सरकारका अनुसार शनिबार साँझसम्म ३३ जनालाई जीवित उद्धार गरिएको छ। यद्यपि हजारौं मानिस अझै सम्पर्कविहीन रहेको अनुमान छ। विपक्षी समूहले सञ्चालन गरेको एक अनलाइन पोर्टलमा करिब ५० हजार मानिस अझै बेपत्ता रहेको विवरण सार्वजनिक गरिएको छ।

भूकम्पपछि प्रभावित क्षेत्रमा खानेपानी, सरसफाइ र आधारभूत सेवामा गम्भीर संकट देखिएको छ। हजारौं परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन्।

यसबीच अन्तर्राष्ट्रिय समुदायबाट राहत तथा उद्धार सहयोग पनि निरन्तर आइरहेको छ। हालसम्म २४ देशले ५२१ टन राहत सामग्री, ८६ वटा खोजी कुकुरसहित २ हजार ७०० भन्दा बढी उद्धारकर्मी भेनेजुएला पठाएका छन्। अमेरिकाले २५० सदस्यीय विपद् प्रतिक्रिया टोलीसहित सैन्य विमान र नौसैनिक सहयोग पनि परिचालन गरेको जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको