सडक डिभिजन कार्यालय भक्तपुरले सम्झौताअनुसार काम नगर्ने १० वटा निर्माण व्यवसायी तथा फर्महरूलाई ७ दिनभित्र बाँकी काम सम्पन्न गर्न अन्तिम अल्टिमेटम दिएको छ।
मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै कार्यालयले निर्माण कार्य पूरा गरी भुक्तानीका लागि बिल पेस गर्न निर्देशन दिएको हो। पटक–पटक मौखिक र टेलिफोनमार्फत ताकेता गर्दा पनि कामको प्रगति सन्तोषजनक नदेखिएपछि कार्यालयले यो कदम चालेको हो।
तोकिएको ७ दिनभित्र पनि काम सम्पन्न नभएमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ र ठेक्का सम्झौताका सर्तहरू बमोजिम सम्झौता तोड्ने प्रक्रिया अघि बढाइने कार्यालयले प्रष्ट पारेको छ।
चेतावनी दिइएका आयोजनामा अरनिको राजमार्गअन्तर्गत चाल्नेढुंगा–खावा–लामिडाँडा–दोलालघाट सडक स्तरोन्नति, बोहोरेदोभान–ठुलोपार्सेल सडक, बाहाखा बजार–मनोहरा पुल सडक, ठिमी चारदोबाटोमा पैदलयात्री आकाशे पुल निर्माण, ग्वार्को–लाकुरी भन्ज्याङ–पनौती सडक तथा तेमाल गाउँपालिकाका विभिन्न सडक खण्डका आयोजना रहेका छन्।
यस्तै, काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीहरूमा ओम निलकण्ठेश्वर कन्स्ट्रक्सन, कान्तिपथ कन्स्ट्रक्सन, माता चुनदेवी कन्स्ट्रक्सन, बीजी कन्स्ट्रक्सन, जय खाँडादेवी इन्जिनियरिङ, थापा/इम्यानुअल जेभी, एम.के. सनलाइट जेभी, लामा कन्स्ट्रक्सन एण्ड सप्लायर्स, पी एण्ड के/पपुलर जेभी र गौतम कन्स्ट्रक्सन रहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस