Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेरौँं, कम्पनीको विश्लेषण

बुधबार, १४ चैत्र २०७४, ०७ : ५५ मा प्रकाशित

स्ट्याण्डर्ड चार्टर्ड बैंकको   सेयर किन्दै हुनुहुन्छ ? हेरौँं, कम्पनीको विश्लेषण

प्रमुख गतिविधि 
पुस २६ मा सम्पन्न कम्पनीको ३१औं वार्षिक साधारणसभामार्फत बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्तापूँजी ८ अर्ब पुर्‍याउन कम्पनीले गतवर्षको एफपीओबाट जम्मा भएको प्रिमियमलाई उपयोग गरी शत प्रतिशत बोनससेयर दिएको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (सोमवार, १२ चैत २०७४)

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • बैंकले यो अवधिमा आफ्नो खुद नाफामा ३७ प्रतिशतको वृद्धि हासिल गरेको छ । कम्पनी यो त्रैमाससम्म १ अर्ब १ करोड रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा उसले ७४ करोड १ लाख खुद नाफा कमाएको थियो ।

  • खुद नाफामा वृद्धि गरेसँगै प्रतिसेयर आम्दानी सन्तुलनमा राख्न केही हदसम्म सफल भएको पाइन्न । प्रतिशेयर आम्दानी रू. ३९ दशमलव ४८ बाट रू. २५ दशमलव ३० पुगेको छ । यो अवधिमा उसको पूँजी ११४ प्रतिशत वृद्धि भएको छ ।

  • यही समयमा जगेडा ८ प्रतिशत वृद्धि भएको छ । कम्पनीको जगेडामा ४ अर्ब ८६ करोड रुपैयाँ छ ।

  • ६६ अर्ब ७ करोड निक्षेप उठाएर ४२ अर्ब ३५ करोड कर्जा प्रवाह गरेको छ ।

  • निक्षेप ७ प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह २१ प्रतिशत वृद्धि भएको छ ।

  • खुद ब्याज आम्दानी ४० प्रतिशत वृद्धि भएर १ अर्ब ४६ करोड पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ३९ प्रतिशत वृद्धि भएर १ अर्ब ५५ करोड छ । आम्दानीमा ५ करोड ९९ लाख प्रोभिजन घट्न पुग्यो भने जोखीम कोषबाट २ करोड ६९ लाख रकम फिर्ता भएको छ ।

  • बैंक निष्क्रिय कर्जामा केही मात्रामा कमी ल्याउन सफल भएको छ । यस अवधिमा उसको निष्क्रिय कर्जा शून्य दशमलव २६ प्रतिशतबाट घटेर शून्य दशमलव १७ प्रतिशतमा आएको छ भने निष्क्रिय कर्जाका लागि ६८५ दशमलव शून्य ९ प्रतिशत रकम व्यवस्था गरेको छ ।

  • बैंकले प्रकाशन गरेको वित्तीय विवरणअनुसार प्रतिसेयर नेटवर्थ रू. १६० दशमलव ७४, कोषको लागत २ दशमलव ४२ प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. १०३८ छ ।

निष्कर्ष :
बैंकले खुद नाफामा वृद्धि गर्नु सकारात्मक पक्ष छ । तैपनि प्रदान गरिएको १०० प्रतिशत बोनस सेयरको कारणले गर्दा कम्पनीलाई प्रतिसेयर आम्दानी सन्तुलनमा राख्न चुनौती थपिएको छ । निक्षेप सङ्कलनमा कम्पनी त्यति आक्रामक हिसाबले प्रस्तुत हुन सकेको छैन ।

कम्पनीले आफ्नो कोषको लागत ३ प्रतिशतभन्दा मुनि राख्न सफल भएको छ, जुन कम्पनीको एउटा प्रमुख उपलब्धि हो ।

निक्षेप सङ्कलनको तुलनामा कर्जा प्रवाह आक्रामक हुँदा उसको ८० प्रतिशत नजीकै पुगेको सीसीडी रेशियो घटाउन उसका लागि चुनौती थपिएको छ ।

प्राविधिक विश्लेषण : स्ट्याण्डर्ड चार्टर्ड बैङ्क घट्दो प्रवृत्तिमा

प्रतिरोध २ : ९५४ । प्रतिरोध १ : ९०० । हालको अन्तिम मूल्य : ८६७ । टेवा १ : ८७० । टेवा २ : ८३०

बजारको अवस्था
यस कम्पनीको २२ मार्च, २०१८ सम्मको दैनिक मैनबत्ती चार्टको आधारमा अन्तिम कारोबार मूल्य ८ सय ६७ मा छ । यो मूल्य अघिल्लो दिनको भन्दा ८ रुपैयाँ अर्थात् शून्य दशमलव ९१ प्रतिशत कम हो । त्यस दिनको परिमाण ५ हजार ५ सय ४७ मा छ । यो अघिल्लो दिनको भन्दा १ सय १२ कित्ता बढी हो ।

मूल्यको प्रवृत्ति विश्लेषण
चार्टमा देखिएबमोजिम विगत ८ महीनादेखि बजारको माथिल्ला र तल्ला बिन्दु घटिरहेकोले बजारमा विक्रेताको चाप रहेको सङ्केत गर्दछ । हाल मूल्यले मनोवैज्ञानिक टेवा ९ सयलाई तोडेर तत्कालीन टेवा ८ सय ७० को क्षेत्रमा रहेको देखिन्छ ।

अन्य प्राविधिक सङ्केत :
एक्स्पोनेन्सियल मुभिङ एभरेज (ईएमए) : २० र ५० दिनका ईएमएहरू एकआपसमा फराकिलो हुँदै गएकाले बजारमा विक्रेताको चाप रहेको बुझाउँछ ।

एडीएक्स : यसको प्रवृत्तिले १ महीनादेखि बजारमा विक्रेताको चाप प्रबल रहेको सङ्केत गर्दछ ।

रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई २३ अङ्कमा छ । यसले शेयर बढी विक्री भएको सङ्केत गर्दछ । यसको प्रवृत्तिले बजार सकारात्मक भइहालेको सङ्केत गरेको देखिँदैन ।

मैनबत्ती : अन्तिम दिनको मैनबत्तीले हथौडा आकृति बनाएको देखिन्छ । यसले मूल्यको प्रवृत्तिमा परिवर्तन हुन सक्ने सङ्केत गरे पनि अर्को कारोबार दिनको मैनबत्ती पनि हेर्नु जरुरी हुन्छ ।

निष्कर्ष
समग्रमा मूल्य घट्दो प्रवृत्तिमा रहेकाले कम्पनीको सेयर खरीदमा जोखीम घटाउन सूचकहरूको सकारात्मक सङ्केत कुर्नुपर्ने देखिन्छ । त्यसैले, हाल ‘पर्ख र हेर’को रणनीति अपनाउनु उपयुक्त हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको