राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दरमा हेरफेर गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्यलाई अर्बौं रुपैयाँको नोक्सानी पुर्याएको आरोप लगाएका छन्।
उनले उक्त विषय नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय अनियमितता वा आर्थिक अपराध भएको दाबी गर्दै निष्पक्ष छानबिनमार्फत दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्। साथै, यस सम्बन्धमा संसद् तथा संसदीय समितिमार्फत हुने अनुसन्धान र छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्न आफूहरू तयार रहेको पनि उनले उल्लेख गरेका छन्।
शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बजेट निर्माण प्रक्रियासम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर तथा राज्यलाई अर्बौं रुपैयाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न तपाईंले सहयोग गर्नुहोस् । माननीय अर्थमन्त्रीज्यू नेपालको इतिहासकै ठूलो वित्तीय अनियमितता वा आर्थिक अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने विषयमा हामी संसद र संसदीय समितिमार्फत पूर्ण सहयोग गर्न तयार छौँ ।’
उनले अर्थमन्त्रीलाई कुनै गल्ती नै नगरेको भए छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? भन्दै प्रश्न गरेका छन् ।
शाहीले लेखेका छन्,‘यदि तपाईंले कुनै गल्ती गर्नुभएको छैन र सबै प्रक्रिया पारदर्शी ढंगले सम्पन्न भएको हो भने संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सत्य तथ्य बाहिर ल्याउने सबैभन्दा उचित माध्यम निष्पक्ष छानबिन नै हो ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस