नेपालको सेयर बजारमा लगातार आएको ठूलो गिरावटपछि आन्दोलित बनेका लगानीकर्ताहरूले दबाबमूलक कार्यक्रमलाई सुरु गरेका छन्। बजार घटेर सर्वसाधारणको अर्बौँ रुपैयाँ जोखिममा परेको भन्दै आक्रोशित लगानीकर्ताहरूले बिहीबार नियामक निकाय र सरोकारवाला संस्थामा तालाबन्दी गर्ने प्रयास गरेका हुन्।
आफ्नो पूर्वघोषित आन्दोलनअन्तर्गत लगानीकर्ताहरू मंगलबार बिहानै ललितपुरको खुमलटारस्थित नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक ब्रोकर एसोसिएसनको कार्यालय पुगेका थिए। तर, उनीहरू पुग्नुअगावै दुवै कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका कारण तालाबन्दी गर्ने प्रयास असफल भएको छ।
तालाबन्दी गर्न नपाएपछि लगानीकर्ताका नेता तिलक कोइरालाको नेतृत्वमा रहेका ६०-७० जना प्रदर्शनकारीले धितोपत्र बोर्डको गेटमै धर्ना दिएका छन्। प्रहरीले सुरक्षा घेरा हालेर भित्र छिर्न नदिएपछि केही बेर सो क्षेत्र तनावग्रस्त बनेको थियो। धर्नाका क्रममा लगानीकर्ताहरूले 'पूँजी बजारलाई बचाउ', 'तत्काल रेस्क्यु प्लान लागू गर' र 'नियामक निकाय मुकदर्शक बन्न पाउँदैन' जस्ता नाराबाजी गरेका थिए।
आन्दोलनको नेतृत्व गरिरहेका तिलक कोइरालाले यो बजार जोगाउनका लागि चालिएको बाध्यकारी कदम भएको बताए। 'हामीले ताला लगाउन खोजेका थियौँ, तर प्रहरी आफैँ गेटमा बसेर पहिल्यै तालाबन्दी जस्तो गरिदियो,' कोइरालाले भने, 'हाम्रो माग बजारका लागि तत्काल 'रेस्क्यु प्लान' (उद्धार योजना) ल्याउनु हो। अब सरकार र बोर्डले भविष्यमा यो गर्छौँ भनेर अल्झाउने समय छैन, हामीलाई तत्काल ठोस समाधान चाहिन्छ।'
मौद्रिक नीति र नियामक निकायका कतिपय नीतिगत व्यवस्थाका कारण सेयर बजार परिसूचक (नेप्से) निरन्तर ओरालो लागेको र यसले लगानीकर्ताको मनोबल गिराएको प्रदर्शनकारीहरूको दाबी छ। उनीहरूले तत्काल नीतिगत सुधार नगरे आन्दोलनलाई देशव्यापी बनाउने चेतावनी दिएका छन्।
अहिले धितोपत्र बोर्ड आसपासको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ भने लगानीकर्ताहरू आफ्ना माग पूरा नभएसम्म पछि नहट्ने अडानमा छन्। यता धितोपत्र बोर्डले भने बजार सुधारका लागि आन्तरिक गृहकार्य भइरहेको दाबी गर्दै लगानीकर्तालाई संयमता अपनाउन आग्रह गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस