Like us!
Follow us!
Connect us!
Watch us!

पुरा होला त, आगामी २ वर्ष भित्र १५ लाख पर्यटक भित्र्याउने योजना ?

शुक्रबार, १६ चैत्र २०७४, १० : ३९ मा प्रकाशित

पुरा होला त, आगामी २ वर्ष भित्र १५ लाख पर्यटक भित्र्याउने योजना ?

अर्थ संसार, काठमाडौँ– आगामी दुई वर्षभित्र १५ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको सरकारले छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन प्रचारात्मक अभियानलाई तीव्रता दिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पछिल्लो समय दुई छिमेकी मुलुकबाट ठूलो संख्यामा पर्यटक आउन थालेकाले उनीहरुबीचको सञ्चार सहजताका लागि आफ्नै भाषामा वेबसाइट बनाउन लागिएको जानकारी दिनुभयो ।

उहाँले पर्यटकलाई आकर्षण गर्न दुई छिमेकी मुलुकको वेबसाइट बनाइने तयारी गरिएको बताउनुभयो ।

मन्त्री अधिकारीले सरकारले आगामी सन् २०२० भित्र नेपालमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सन्दर्भमा छिमेकी मुलुकका पर्यटकलाई सहयोगी वेबसाइटले थप पर्यटक आकर्षण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रचूर सम्भावनाकाबीच पनि नेपालले उचित पर्यटन प्रवद्र्धन गरी पर्यटक आकर्षण गर्न नसकेको सन्दर्भ उल्लेख अन्तर्राष्ट्रिय बजारीकरणलाई प्रभावकारी बनाइने बताउनुभयो ।

मन्त्री अधिकारीले पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने योजनाका साथ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका निर्माण कार्यलाई प्रभावकारी बनाइनुका साथै निजगढ विमानस्थल निर्माण प्रक्रियालाई चाँडो अघि बढाइनेछ भन्नुभयो ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१७ मा हवाई मार्गबाट मात्रै चीनबाट एक लाख १५ हजार र भारतबाट एक लाख ६० हजार पर्यटक नेपाल आएका थिए ।

नेपाल र भारतबीच खुला सिमाना रहेकाले सडकमार्गबाट नेपाल भित्रने पर्यटकको भने तथ्याङ्क छैन । सन् २०१७ मा करिब १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१६ मा साँढे सात लाख पर्यटक भित्रिएका थिए । यसअघि सबैभन्दा बढी सन् २०१२ मा आठ लाख पर्यटक नेपाल आएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको