नयाँ आर्थिक वर्ष सुरु भएदेखि सेयर बजार लगातार रुपमा बढीरहेको छ । निकै संकुचनको अवस्थामा पुगेर २५०० विन्दुमा झरेको बजार नयाँ आर्थिक वर्ष सुरु भएसँगै लगातार रुपमा बढेर २७०० विन्दु भन्दा माथि पुगेको छ ।
नयाँ आर्थिक वर्ष सुरु हुनै लाग्दा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारलाई सुधार गर्ने भन्दै आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्यो ।
बोर्डको नीति तथा कार्यक्रम र नयाँ आर्थिक वर्ष सुरु भएसँगै नेपालको पुँजी बजारमा लगातार रुपमा वृद्धि देखियो । एक तर्फ नयाँ आर्थिक वर्ष सुरु भएसँगै अब बोनसको पनि सिजन सुरु हुने बेला आयो । धेरै कम्पनीहरुको वार्षिक वित्तीय विवरण समेत सार्वजनिक हुने बेला हो यो । अघिल्ला वर्षहरुमा पनि आर्थिक वर्ष सुरु हुँदा सेयर बजार बढ्ने नै गरेको थियो । यो पटक बोर्डले लगानीकर्ताका लागि भन्दै आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको अवस्था छ । अर्को तर्फ आर्थिक वर्षको सुरुवातमा बजार बढ्ने विगत पनि छ । अर्को तर्फ लगानीकर्ताहरुलाई प्रधानमन्त्री बालेन्द्र साहले समेत भेट गरेर पुँजी बजारको सुधारका लागि काम गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।
आर्थिक वर्ष सुरु हुनु र पुँजी बजारका विषयमा सरकारले आफ्ना धारणाहरु सार्वजनिक गर्नु एकै पटक भएको र अहिले बजार निकै तल्लो विन्दुमा पुगेकाले आर्थिक वर्ष सुरु भएकाले नै बजार बढेको लगानीकर्ताहरुको भनाइ छ ।
आर्थिक वर्ष सुरु हुनु भन्दा तीन दिन अघि देखिनै बजार बढ्न थालेको थियो । असार ३० गतेदेखि लगातार रुपमा पुँजी बजारमा वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो दिन साउन १ गते बजार करिब ८० अंकले बढेर कारोबार भएको थियो । त्यस अघि २५०० विन्दुमा नै रहेको बजार साउन १ गते ७९.७४ अंकले बढेर २६७७ विन्दुमा पुगेको थियो । साउन ३ गते पुँजी बजार ४१ अंकले बढेर कारोबार भयो । चालु आर्थिक वर्षको तीन कारोबार दिनमा नै बजार २५९७.८० विन्दुबाट २७२६.४९ विन्दुमा पुग्यो । यो दुई कारोबार दिनमा नै बजार १२८.६६ अंकले बढेको छ । गत आर्थिक वर्षको अन्तिम दिन बजारमा ३ अर्ब ४९ करोड माथिको कारोबार भएको बजार त्यस पछिका दिनमा कारोबार पनि बढेको छ । साउन ४ गते बजारमा ६ अर्ब ६७ करोड माथिको कारोबार भएको छ ।
नयाँ आर्थिक वर्ष सुरु भएसँगै लाभांशका लागि पनि धेरै कुर्नु नपर्ने र प्रधानमन्त्रीले नै पनि सेयर बजारका विषयमा इनिसेसन लिएकाले बजार बढेको लगानीकर्ताहरुको भनाइ छ । अर्को तर्फ बजार घटेर निकै तल्लो विन्दुमा पनि पुगिसकेको अवस्थामा बढ्नै पर्ने बेला रहेको उनीहरु बताउँछन् ।
प्रधानमन्त्रीको अग्रसर्ता र लाभांश घोषणा हुने समय भएकाले बजार केही बढेको अर्थ विद् डा. चन्द्रमणी अधिकारीको भनाइ छ । बजार घट्नुमा क्यापिटल गेन ट्याक्स बढेकाले बजार घटेको अहिले लाभांश घोषणा हुने आशाले मात्रै बजार बढेको जस्तो देखिएको उनको तर्क छ । अर्थतन्त्र नकारात्मक अवस्थामा रहेको बेला पुँजी बजार बढन् नसक्ने उनको भनाइ छ । अहिले देखिएको अग्रसर्तालाई सरकारले नीतिमा नै ल्याएर कार्यान्वयन गर्नु पर्ने उनको भनाइ छ ।
‘अहिले आर्थिक वर्ष भर्खर सुरु भएको छ । अब कम्पनीहरुको वित्तीय विवरणहरु आउँछन् । बैंकहरुको नाफा बढेर आउँछ भन्ने समाचारहरु आइरहेका छन् । यसले पनि पुँजी बजारमा केही हरियाली देखिएको हो,’ उनले भने, ‘अहिले सरकारले लिएको अग्रसर्तालाई नीतिमा ढाल्न सकिएन भने पुँजी बजारमा सोचेजस्तो सुधार हुँदैन ।’
पुँजी बजारका लागि सबै कुरा सकारात्मक भए पनि नयाँ सरकार आए पछि लगातार रुपमा घटेको पुँजी बजार सरकारको इनिसेसनकै कारण बढेको लगानीकर्ता तारा फुल्लेलको भनाइ छ । बजारको सुन्दरता नै घटबढ भएकाले बजार घटेर अहिले बढेको उनले बताए । उनले आर्थिक वर्ष सुरु भएका कारणले पनि बजारले गति लिएको बताए । ‘सरकारले केही इनिसेसन लिएको छ । अर्को तर्फ आर्थिक वर्ष पनि सुरु भएकाले बजार बढेको हो,’ उनले भने ।
अहिले नीति, आर्थिक वर्षको सुरु भन्दा पनि बालेन साहले पुँजी बजारका विषयमा चासो लिएर काम गरेकाले बजारमा उत्साह देखिएको अर्का लगानीकर्ता नानी बाबु खरेलको भनाइ छ । स्वर्णिम वाग्लेले नकारात्मक बोलेर बजार घटेको भन्दै उनले अहिले बालेनले अर्थनीति पनि ह्यान्डल गरेकाले बजार बढेको उनको तर्क छ । ‘अहिले अर्थतन्त्र बालेनले ह्यान्डल गरेको अवस्था हो । स्वर्णिमले बिगारेको कुरालाइ सुधार गर्ने भने पछि बजारले गति लिएको हो,’ उनले भने । कर घटाउनु पर्ने बेला बढाएको तथा कर लगाउनै नहुने क्षेत्रमा पनि कर लगाएकाले आम लगानीकर्ताको मनोबल घटेर बजार प्यानिक भएको उनको भनाइ छ । बजार घट्नु पर्ने कारण केही नभए पनि अर्थमन्त्रीकै कारणले बजार घटेको खरेलको आरोप छ ।
अहिलेको अवस्थामा सबै कुरा एकै पटक हुँदा लगानीकर्ताको मनोबल बढेकाले बजारमा त्यसको प्रभाव देखिएको लगानीकर्ता जगन्नाथ ढुंगेलको भनाइ छ । सेयर बजार मनोवैज्ञानिक हुने भएकाले केही दिन देखि भएका परिवर्तन र आर्थिक वर्षको सुरुवाती चरण भएकाले लाभांशका लागि धेरै समय कुर्नु नपर्ने कारणले पनि बजारमा उत्साह देखिएको उनले बताए । ‘सेयर बजारका लागि केही दिन देखि नीति गत रुपमा पनि केही परिवर्तनहरु आएका छन् । अर्को तर्फ लाभांशका लागि पनि धेरै समय कुर्नु नपर्ने र जुलाई महिनामा नेपालको सेयर बजार विगतका वर्षहरुमा बढ्ने गरेको अवस्था छ । यी सबै कारणले गर्दा बजार बढेको हो,’ उनले भने ।
अहिलेको बजार वृद्धि सरकारको नीति भन्दा पनि नियमित प्रक्रियाका रुपमा नै बढेको लगानीकर्ता इश्वर श्रेष्ठको भनाइ छ । उनले अहिलेको बजार अधिकतम २८०० विन्दुसम्म पुग्ने र त्यस पछि फेरि घट्ने बताए । अहिलेको बजार आर्थिक वर्ष सुरु हुँदा अघिल्ला वर्षहरुमा बढेको जस्तै सामान्य वृद्धि मात्रै भएको उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस