Like us!
Follow us!
Connect us!
Watch us!

लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन नौमती बाजा

सोमबार, २४ बैशाख २०७५, १० : २१ मा प्रकाशित

लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन नौमती बाजा

अर्थ संसार, म्याग्दी– शुभ कार्यमा परम्परागत रुपमा पुरुषले मात्रै बजाउने गरेको नौमती बाजा अब महिलाले पनि बजाउन थालेका छन् । 

पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलीले भने महिला र पुरुष दुवैको सहभागितामा नौमती बाजा बजाउने प्रचलनको शुरुवात गरेका हुन् । 

नौमती बाजा बजाउनेमा महिलाले मादल, दमाह र झ्याली बजाउने गर्छन् । विवाह, चौरासी पूजा, व्रतबन्ध, छेवरलगायतका शुभ कार्यमा बजाइने नौमती बाजालाई संरक्षण गर्दै व्यावसायिक बनाउने उद्देश्यले पोखरामा बसोबास गर्ने म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउँपालिकाका बासिन्दाले फेवा वातावरण तथा लोकसंस्कृति नौमती बाजा समूह नै बनाएका छन् । 

विसं २०६१ मा गठन भएको यस समूहले नयाँ पुस्ताका युवा युवतीलाई नौमती बाजा बजाउन सिकाएर दर्जन बढी नयाँ बाजा समूह नै उत्पादन गरिसकेको फेवा वातावरण तथा लोकसंस्कृति नौमती बाजा समूहका अध्यक्ष डम्बरबहादुर पुर्जाले बताउनुभयो । 

“एउटै समूहमा महिला र पुरुष दुवैले नौमती बाजा बजाउनु हाम्रो प्रमुख विशेषता हो, हामीले यस समूहमार्फत कला संस्कृतिको संरक्षण र नयाँपनसँगै रोजगारी पनि सिर्जना गरेका छौँ” – अध्यक्ष पुर्जाले भन्नुभयो । यस समूहमा अहिले ३० जना बढी आबद्ध छन् । त्यसमध्ये करीब आधा महिला मात्रै छन् । महिलाले बाजा बजाउनुको साथै नौमती बाजामा दोहोरी गाउने र नृत्यसमेत देखाउने गरेको समूहकी सदस्य प्रिती पुनले बताउनुभयो । 

महिलाले नै बाजा बजाउने, दोहोरी गाउने र नृत्यसमेत देखाउने भएकाले पोखरा क्षेत्रमा यस समूहको लोकप्रियता बढेको समूहका बाधक तिलक फगामीको भनाइ छ । विवाहको लगन र पूजाआजा हुने समयमा दुई बढी समूह बनाएर नौमती बाजा बजाउने गरिएको छ । बाजा बजाएर आउने आम्दानीबाट समूहमा आबद्ध भएका बाधक र कलाकारलाई पारिश्रमिक दिने गरिएको छ । 

यस समूहले आफ्नो आम्दानीबाट केही रकम बचत गरी सामाजिक उत्थानको लागि कोष खडा गर्नुको साथै नौमती बाजाका सामग्रीसमेत खरिद गर्ने गरेको समूहकी सदस्य टिकमती पुनले बताउनुभयो । पोखरामा रहेका म्याग्देलीले मात्रै होइन म्याग्दीकै विभिन्न ठाउँमा समेत विशेष गरी मगर समुदायमा महिलाले समेत नौमती बाजा बजाउने गरेका छन् । म्याग्दीबाट कावासेती, चितवनलगायतका क्षेत्रमा पुगेका जनजाति समुदायले समेत महिला र पुरुष दुवैलाई समावेश गरी नौमती बाजा बजाउने गरेका छन् । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको