रमेश गिरी
अर्थ संसार, भक्तपुर – गाईजात्रा पर्वमा ‘घिनिताङ्ग घिनिताङ्ग घिन्ताङघिसी त्वाङ्ग’ भनेर सांस्कृतिक गीत गाएर भक्तपुरमा नाचिने प्रसिद्ध घिन्ताङघिसी नाचमा चरम विकृति भित्रिएको छ ।
प्राचीन नाचको रुपमा लिइने आकर्षक यो नाचलाई युवा पुस्ताले अश्लील शब्दको रुपमा परिणत गरेर गाउन थालेपछि संस्कृतिमा छाएको विकृति देखेर स्थानीय बासिन्दा तथा संस्कृतिकर्मीसमेत चिन्तित बनेका छन् ।
आज भक्तपुरमा मनाइएको परम्परागत गाईजात्रामा युगौँदेखि चल्दै आएको गीर्त घिनिताङ्ग घिनिताङ्ग घिन्ताङघिसी त्वाङ्ग’ लाई बिगारेर अश्लिल शब्दहरुसमेत राखेर युवायुवतीले लाठी नाच नाचेपछि संस्कृतिकर्मीहरु समेत चिन्तामा परेका हुन् ।
परम्परागत संस्कृतिलाई जोगाउने जिम्मेवारी बोकेको युवापुस्ताले नै परम्परागत गीतलाई बिगारी अश्लील गीत बनाएर गाउन थालेपछि परम्परागत संस्कृतिमाथि युवा पुस्ताले प्रहार गरेको संस्कृतिकर्मी ओम धौभडेल बताउनुहुन्छ ।
संस्कृतकर्मी धौभडेल भक्तपुरका बालकदेखि वृद्धसम्म र पुरुषदेखि महिलासम्मले नाच्दै आएका प्रसिद्ध गीतलाई बिगारेर अश्लील बनाइएकाले परम्परा लोप हुने र पछिल्लो पुस्ताले संस्कृतिको गलत अर्थमा बुझ्न सक्ने भएकाले युवा पुस्ताले यस्ता विकृतिलाई हटाउनुपर्ने बताउनुभयो ।
जात्रामा संस्कृतिको नाममा विकृति भित्रिएको पुराना पुस्ताले बताएका छन् । भक्तपुरका ८७ वर्षीय आशालाल चिंकबञ्जारले जात्रामा घिन्ताङघिसी गीतलाई बिगारेर अपशब्द र अश्लील शब्दसमेत प्रयोग भएकामा दुःख लागेको बताउनुभयो । “संस्कृति युवा पुस्ताबाटै विग्रदै छ, युवा पुस्ताले नजोगाए संस्कृतिको अवस्था कस्तो होला” उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
जात्रामा युवतीहरूले प्रयोग गरेका आधुनिक एवं छोटा पहिरनले पनि जात्राको महत्व खस्काएको संस्कृतिकर्मीहरु बताउँछन् । संस्कृतिको नाममा विकृति भित्रिन थालेपछि जात्राको वास्तविक रूप जोगाउन जरूरी रहेको उनीहरु बताउँछन् ।
नाच नाचिरहेका कतिपय युवाले हातहातमा मदिराका बोतल लिएर आपसमा खाँदै खुवाउँदै अझ रहुसिएका देखिन्थे । हातमा मदिराका बोतल लिएर घिन्ताङघिसी नाचसँगै नाचेर थप विकृति भित्र्याएको भन्दै पर्यटन विकास समितिका अध्यक्ष दिवानचन्द्र धौभडेल चिन्ता व्यक्त गर्नुहुन्छ ।
बाँसुरी बाजा, घिन्ताङघिसी नाच, बाँसमा कपडाले बेरेर बनाइएको तामचा, माटो र पित्तलको गाईसमेत देखाई बजार परिक्रमा गरी सेलाउने परम्परा रहेको छ । गाईजात्रामा बैण्ड बाजासमेत बजाएर विकृति भित्र्याएको छ । बैण्ड बाजा यो जात्रामा बजाउने परम्परा छैन, तर केही वर्षयता यस्ता बाजाले ठूलै ठाउँ ओगट्न थालेपछि संस्कृति लोप हुने अवस्थामा पुगेको उनीहरु बताउँछन् ।
केही वर्षयता घिन्ताङघिसी नाचमा विदेशी पर्यटकको पनि बाक्लै सहभागिता हुन थालेको छ । पर्यटन प्रवद्र्धन गर्न स्थानीय युवा क्लबले सञ्चालन गरेको नाचमा विभिन्न देशका पर्यटकले हातहातमा लौरो लिएर घिन्ताङघिसी नाच नाचेका थिए । यसले जात्राको रौनक बढाउनुका साथै पर्यटनको विकास र पर्यटकलाई संस्कृतिको जानकारी दिन टेवा पुगेको पर्यटन विकास समिति भक्तपरका अध्यक्ष धौभडेलले बताउनुभयो ।
केही वर्षअघिसम्म महिलाले नाच्न नहुने परम्परा रहे पनि अहिले भने व्यापक रूपमा युवती तथा किशोरीले घिन्ताङघिसी नाच नाचेका छन् । यसवर्ष नाचमा बालबालिकाको पनि उल्लेख्य सहभागिता रहेको थियो । जात्राको आकर्षणको रूपमा रहेको घिन्ताङघिसी नाचसँगै हनुमान नाच र माक प्याखः अर्थात बाँदर नाचसमेत टोलटोलमा प्रदर्शन गरिएको छ । यसका साथै लाखे नाच, भैरव नाचलगायत देवीदेवताका नाचसमेत प्रदर्शन गरिएको छ ।
आर्थिक अवस्था कमजोर हुनेले पनि कुमार–कुमारी बनाएर घुमाउने तथा जीउँदो गाई मात्रै भए पनि घुमाउने परम्परा रहेको छ । विभिन्न घरबाट निकालिएको जात्रा दरबार भक्तपुर क्षेत्र, बालाखु गणेश, चोछेँ, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, क्वाठडौँ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, वंशगोपाल, इताछेँ, खौमाको परिक्रमा गराउने गर्दछन् ।
जात्रा समापनको क्रममा तौमढीबाट साँझ परालबाट बनेको तामचा र त्यससँगै भैरव नाचसमेत निकालिएको थियो । तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको तामचा, यसपछि सोही टोलभित्रभरिबाट निकालिएको अन्य तामचा र सबैभन्दा पछि नकिंजु अजिमाको तामचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरवार क्षेत्र चोकमा तीनपटक परिक्रमा गरेपछि आजको जात्रा समापन भएको छ ।
यसपछि परालबाट बनेको भैरव र अजिमाको तामचा निस्किएपछि अन्य तामचा निकाल्न नहुने परम्परा रहेको छ । जात्रामा विभिन्न कार्टुन तथा व्यङ्ग्य चित्रसमेत हातहातमा बोकेर प्रदर्शन गरिएको थियो । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको गाईजात्रा कृष्ण जन्माष्टमीको दिन तलेजुको जात्रा गरी समापन गरिन्छ । भोलिदेखिको जात्रामा भने अपराह्नपछि विभिन्न व्यङ्ग्य चित्र, कार्टुन र घिन्ताङघिसीलगायतका नाचहरू प्रदर्शन गर्ने परम्परा छ । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस