साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा देखिएको उतारचढावले फेरि एकपटक स्पष्ट पारेको छ—नेपालको सेयर बजार अझै पनि सूचनाभन्दा बढी ‘सेन्टिमेन्ट’मा चलिरहेको छ।
दिनको सुरुवाती एक घण्टामै नेप्से सूचक २८१७.०९ बिन्दुसम्म उक्लिएको थियो। लगानीकर्तामा सकारात्मक अपेक्षा देखिएको थियो तर, यही उत्साह लामो समय टिकेन।
दिउँसोतिर केही अनलाइन पोर्टलहरूमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायी शेखर गोल्छा पक्राउ परेको भन्दै समाचार प्रसारण हुनासाथ बजारको दिशा अचानक बदलियो।
गोल्छा पक्राउ परेको भन्ने खबर सार्वजनिक भएसँगै लगानीकर्तामा त्रास फैलियो। बजारमा एकाएक बिक्री दबाब बढ्यो र नेप्से क्रमशः घट्दै अन्त्यमा २७८७.१५ बिन्दुमा बन्द भयो, जुन १७.०१ अंक अर्थात् ०.६० प्रतिशतको गिरावट हो।
तर, केही समयमै उक्त समाचार गलत सावित भयो। केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले यस्तो कुनै पक्राउ नभएको स्पष्ट गर्यो भने स्वयं गोल्छाले पनि आफू कार्यालयमै रहेको प्रतिक्रिया दिए।
नेपालको सेयर बजारमा सूचना प्रवाहको विश्वसनीयता अझै कमजोर छ। आधिकारिक स्रोतभन्दा अघि ‘अनौपचारिक सूचना’ र ‘ब्रेकिङ’ को नाममा आउने अपुष्ट समाचारले बजारलाई चलायमान बनाउने गरेको छ।
विशेष गरी व्यवसायी वा ठूला लगानीकर्तासँग जोडिएका नकारात्मक समाचारले बजारमा तुरुन्तै नकारात्मक मनोविज्ञान सिर्जना गर्छ।
लगानीकर्ताले यस्ता घटनालाई आर्थिक गतिविधि, नीतिगत स्थायित्व र निजी क्षेत्रमाथिको दबाबसँग जोडेर हेर्छन्।
यसअघि व्यवसायी दीपक भट्ट, साहिल अग्रवाल र शुलभ अग्रवाल जस्ता नामहरू सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएपछि बजारमा पहिले नै ‘नकारात्मक सेन्टिमेन्ट’ बलियो बनेको थियो।
त्यसमा थपिएको आजको गलत समाचारले लगानीकर्ताको विश्वास झन् कमजोर बनाएको देखिन्छ।
बजारका जानकारहरू भन्छन्-नेपालको सेयर बजार अहिले ‘फन्डामेन्टल’ भन्दा ‘फियर’ र ‘न्यूज फ्लो’ मा बढी निर्भर छ।
आजको गिरावट कुनै आर्थिक सूचक, कम्पनीको नतिजा वा नीतिगत निर्णयका कारण होइन। यो पूर्ण रूपमा ‘सेन्टिमेन्ट ड्रिभन’ थियो।
एक अपुष्ट खबरले बजारको दिशा बदल्नुले बजारको गहिराइ र स्थायित्वमाथि गम्भीर प्रश्न उठाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस