Like us!
Follow us!
Connect us!
Watch us!

वास्तविक क्षेत्रलाई पूँजी बजारमा ल्याउन धितोपत्र बोर्डको पहल

आइतबार, १७ पुस २०७३, १७ : ३२ मा प्रकाशित

वास्तविक क्षेत्रलाई पूँजी बजारमा ल्याउन धितोपत्र बोर्डको पहल

अर्थ संसार
काठमाडौं– वास्तविक क्षेत्रका कम्पनीलाई पुँजी बजारमा आकर्षित गर्न तथा सम्बन्धित क्षेत्रको सुझाव निर्देशिकामा समावेश गर्न वास्तविक क्षेत्रका प्रमुख प्रतिनिधिमूलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका सदस्यसँग छलफल गरेको छ । बोर्डले एनसेल, चन्द्रागिरी हिल्स्, विभिन्न जलविद्युत, हाउजिङ्ग, लगानी कम्पनीसमेत १ सयभन्दा बढीको सहभागितामा बोर्डले पहिलो पटक यस्तो अन्तर्कृया गरेको हो । 

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा रहेको सार्वजनिक निष्काशन सम्बन्धी नयाँ व्यवस्था तथा प्रकृया सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै वास्तविक क्षेत्रका कम्पनीहरुको सल्लाह सुझाव ग्रहण गरी धितोपत्र निष्काशन निर्देशिका जारी गर्ने बताए ।  

त्यस अबसरमा एफसिए जगदिश भट्टराईले वास्तविक क्षेत्र तथा दीर्घकालीन पूँजी परिचालन सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै प्राइभेट संस्था पब्लिकमा गई धितोपत्रको सार्वजनिक निष्काशन गर्दा बृहत पुँजी परिचालन हुने, नयाँ सोच तथा उद्यमशीलता प्रोत्साहित हुने, तरलतामा बृद्धि हुने, कम्पनीको मूल्य बढ्न गई महत्व बढ्ने, कम्पनीको ब्राण्ड स्थापित हुने तथ्य स्पष्ट पारे । वास्तविक क्षेत्रले सिमित परम्परावादी व्यापारिक सोचलाई त्याग्दै पुँजी बजारमा प्रवेश गरी लाभ लिनुपर्ने उनले बताए । 

 त्यस्तै नेपाल मर्चेण्ट बैंकर संघका अध्यक्ष प्रविणरमण पराजुलीले सार्वजनिक निष्काशनसम्बन्धी नयाँ व्यवस्था तथा मर्चेण्ट बैंकिङ्ग सेवा सम्बन्धमा संक्षिप्त प्रस्तुती पेश गरेका थिए । छलफलका क्रममा सहभागी उद्योगी तथा व्यवसायीहरुले स्वतन्त्र मूल्य निर्धारण विधि, नियमनकारी निकाय नभएका कम्पनीलाई बोर्डले नै नियमन गर्नुपर्ने, पुँजी बजारमा कृषि क्षेत्रलाई पनि आकर्षिक गर्नुपर्ने, मर्जर, एक्विजिशन तथा थप निष्काशन प्रकृयालाई अझ सरल तथा सहज बनाउनुपर्ने, सूचिकृत कम्पनीबाट प्रकाशित हुने वित्तीय विवरण प्रवाहलाई नियमित बनाई त्यसको विश्लेषण गर्नुपर्ने र बोर्डको वेभसाइटमार्फत केन्द्रीकृत रुपमा सबैलाई सूचना प्रवाह गर्नुपर्ने, उद्योगीमा कर छुटसम्बन्धी रहेको द्विविधा स्पष्ट पार्नुपर्नेलगायतका विषयमा जिज्ञासा राखेका थिए । 

त्यस सम्बन्धमा बोर्ड अध्यक्ष डा.रेवतबहादुर कार्की तथा कार्यपत्र प्रस्तोताले प्रकाश पारेका थिए । कार्यक्रमका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले राज्य वास्तविक क्षेत्रका कम्पनीलाई पूँजी बजारमा ल्याउन सकारात्मक रहेको र बोर्ड यस कार्यमा अग्रसर भइरहेको अवस्थामा बोर्ड तथा नेपाल उद्योग वाणिज्य महासंघ सहकार्य गरी यही आर्थिक वर्षमा नै कम्तीमा ५ वटा वास्तविक क्षेत्रका कम्पनीहरुलाई पुँजी बजारमा भित्र्याई यस कार्यलाई उदाहरणीय बनाउनुपर्ने र वास्तविक क्षेत्रका कम्पनीले सुशासनमा समेत जोड दिनुपर्ने बताए । 

 त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रविधि विकास गरी आफ्नो छुट्टै ब्राण्ड बनाउन सफल उद्योगलाई अन्य देशको पुँजी बजारमा उपलब्ध हुने सुविधा नेपालमा समेत हुनुपर्ने, कम्पनीको संवेदनशील सूचना चुहाउन खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सुदृढ नियमन व्यवस्था गर्नुपर्ने र पुँजी बजारबाट के कस्तो फाइदा लिन सकिन्छ भन्ने विषयमा एकल स्वामित्वमा संचालनमा रहेका कम्पनीलाई स्पष्ट जानकारी दिनुपर्ने बताए । 

बोर्ड अध्यक्ष कार्कीले पुँजी बजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई प्रवेश गराउने क्रममा पब्लिक कम्पनीको रुपमा स्थापना हुने उद्योग व्यवसायलाई आयकरमा १५ प्रतिशत छुट दिने व्यवस्था आव २०७३.७४ को बजेट वक्तव्यमार्फत गरिएको बताए । वास्तविक क्षेत्रलाई थप प्रोत्साहनदिइ पुँजी बजारमा भित्र्याउन तत्कालीन नियमावलीलाई प्रतिस्थापन गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ हालै लागू गरिएको सन्दर्भमा बोर्डले नयाँ निष्काशन निर्देशिका जारी गर्न लागेको जानकारी दिए । उनले वास्तविक क्षेत्रका कम्पनीको प्रवेशसँगै पुँजी बजारले अर्थतन्त्रको ऐनाको रुपमा काम गर्ने र पुँजी बजारमा आधारित अर्थतन्त्र नै विश्वसनीय एवं दीर्घकालिन हुने कुरामा जोड दिदै उक्त नियमावलीमा भएको व्यवस्था र आयकरमा १५ प्रतिशत छुटको प्रावधानले पुँजी बजार प्रवेश सम्बन्धी विषय अब वास्तविक क्षेत्रका कम्पनीको हातमा पुगेको बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको