अर्थ संसार, नयाँ दिल्ली– भारत सरकारले टनकपुरको सवस्टेशनको क्षमता वृद्धि गर्न सहमति जनाएको छ । भारत भ्रमणमा रहनु भएका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन र भारतका विद्युत् राज्य मन्त्री आर के सिंहबीच भएको भेटवार्ताका क्रममा उक्त सवस्टशनको क्षमता अभिवृद्धिका विषयमा छलफल भएको हो ।
हाल सो सवस्टेशनमा ५० एमभीए क्षमताको ट्रान्सफर्मर रहेको छ । थप ५० एमभिएको ट्रान्सफर्मर थप गरेर टनकपुर हुँदै नेपालमा विद्युत् उपलब्ध गराउने विषयमा छलफल भएको हो ।
पश्चिम नेपाल र विशेष गरी सुदूरपश्चिम प्रदेशको विद्युत् माग र आपूर्तिको सन्तुलन मिलनउन उक्त सवस्टेशनको क्षमता अभिवृद्धिका विषयमा लामो समयदेखि छलफल हुँदै आएको थियो ।
यस्तै सोही अवसरमा नेपालको दोस्रो अन्तरदेशिय प्रसारण लाइनको रुपमा रहेका न्यू बुटवल गोरखपुर प्रसारण लाइनको निर्माणको ढाँचाका विषयमा समेत कुराकानी भएको थियो ।
भारत तर्फको प्रसारण लाइन भारत सरकार र नेपाल तर्फको प्रसारण लाइन नेपालले नै संयुक्त रुपमा निर्माण गर्ने विषयमा समेत महत्वपूर्ण छलफल भएको थियो ।
दुई देशबीचमा ऊर्जा र जलस्रोतका विविध क्षेत्रमा सहकार्य गर्ने विषयमा महत्वपूर्ण छलफल भएको मन्त्री पुनले जानकारी दिनुभयो ।
ऊर्जा तथा जलस्रोतको क्षेत्रमा भइरहेका विविध प्रयास तथा सहकार्यका क्षेत्रमा थप नयाँ लक्ष्य तय गर्दै अगाडि बढ्ने र नेपालको ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकारले तय गरेका लक्ष्यलाई पूरा गर्न आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग एवम् लगानीका थप सम्भावनाका विषयमा समेत महत्वूर्ण विचार विमर्श भएको थियो ।
त्यसअघि मन्त्री पुन भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सुरु भएको विश्व दिगो विकास शिखर सम्मेलनमा सहभागी हुनुभयो ।
उक्त शिखर सम्मेलनको भारतका उपराष्ट्रपति वन्कैया नायडुले उद्घाटन गर्नुभएको थियो । उहाँले दिगो विकासका लागि सबै पक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कृषि, पर्यटन तथा उत्पादनको क्षेत्रमा समेत वातावरणमैत्री हुने गरी काम गर्नुपर्ने र दिगो विकासका साझा लक्ष्यलाई पहिचान गर्नुपर्ने धारणा राख्नुभयो । सम्मेलनमा विश्वका ४० देशका प्रतिनिधि सहभागी छन् । सम्मेलनमा भारतका विज्ञान तथा प्रविधि मन्त्री हर्ष वद्र्धनको पनि सहभागिता थियो ।
सम्मेलनमा मंगलबारको सत्रमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पुनले विशेष सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा दिगो विकासका क्षेत्रमा अवलम्बन गर्नुपर्ने विषय र त्यसका लागि अगाडि सारिएका लक्ष्य पहिल्याउन अवलम्बन गर्नुपर्ने महत्वपूर्ण विषयमा छलफल हुने कार्यक्रम छ । संयुक्त राष्ट्रसंघले अगाडि सारेको दिगो विकास लक्ष्य पहिल्याउँदै गरिबी निवारण गर्ने लक्ष्यलाई समेत सम्बोधन गर्न सम्मेलन महत्वपूर्ण अवसर भएको सो अवसरमा जानकारी दिइएको थियो ।
हलै सार्वजनिक भएको एक अध्ययन प्रतिवेदन अनुसार सन् २१०० सम्ममा विश्वव्यापी रुपमा तापक्रम २ डिग्री सेन्टीग्रेटको दरमा वृद्धि हुने र दुई तिहाई बढी हिमनदी पग्लिएर जाने उल्लेख छ । जलवायु परिवर्तनले पारेको प्रभावलाइर्ध न्यूनीकरण गर्न संयुक्त राष्ट्रसंघले अगाडि सारेका नीति तथा कार्यक्रमलाई केन्द्रबिन्दुमा राखेर साझा लक्ष्यको पहिचान र कार्यक्रम बनाउन सम्मेलन महत्वपूर्ण अवसर भएको आयोजकले जनाएको छ । सम्मेलन भारतको दि इनर्जी एण्ड रिर्सोस इष्टिच्यूटले आयोजना गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस