Like us!
Follow us!
Connect us!
Watch us!

बिमा पहुँच बढाउन ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन

आइतबार, ०३ चैत्र २०७५, ०८ : ०५ मा प्रकाशित

बिमा पहुँच बढाउन ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन

अर्थ संसार,काठमाडौं– बिमामा नेपालीको पहुँच बढाउने उद्देश्यले राष्ट्रव्यापी अभियान चलाइने भएको छ ।

लामो समयदेखि आर्थिक पत्रकारिता गर्दै आएका युवा र केही बिमा विज्ञको सक्रियतामा स्थापित नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एससिस) ले सातै प्रदेशका विभिन्न स्थानीय तहमा पुगेर ‘घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान’ सञ्चालन गर्न लागेको हो ।

बिमा सचेतना बढाउने, बिमाको पहुँचबाहिर रहेका नागरिकलाई बिमाको पहुँचमा ल्याउने, बिमालक्षित सरकारी योजनामा सहयोग पुर्याउने र सामाजिक सुरक्षा प्रवर्धन गर्ने उद्देश्यले सुरु हुन लागेको अभियानको उद्घाटन चैत ९ गते उदयपुरको बेलका नगरपालिकाबाट गरिने एनसिसकी अध्यक्ष लक्ष्मी श्रेष्ठले बताइन् । करिब ५५ हजार जनसंख्या रहेको उक्त नगरपालिकाका बहुसंख्यक नागरिकले बिमा साक्षरताको अभावमा बिमा नगरेको र बिमा कम्पनीका शाखासमेत नभएकाले सोही ठाउँबाट अभियानको उद्घाटन गर्न लागिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

उनका अनुसार उद्घाटनसँगै अभियानको पहिलो चरणअन्तर्गत धुनषाको सबैला नगरपालिका, रौतहटको यमुनामाई गाउँपालिका, सप्तरीको सप्तकोशी नगरपालिका, सुनसरीको इनरुवा नगरपालिका, मोरङको कोशी हरैँचा नगरपालिका, झापाको कनकाई नगरपालिका, काभ्रेको पनौती नगरपालिका र धादिङको रि गाउँपालिकामा कार्यक्रम गरिनेछ । कार्यक्रम गर्ने स्थानीय तहमा पुगेर पूर्वअध्ययनपश्चात् प्राथमिकता निर्धारण गरिने उनले बताइन् ।

उद्घाटनपछि हुने सबै कार्यक्रम घुम्ती ट्रकमार्फत गरिने आयोजकले जनाएको छ । ‘भिडियो अन ह्विल कन्सेप्टबाट अगाडि बढ्ने गरी तयारी अघि बढाइएको छ,’ एनसिसका सल्लाहकार एवं बिमा विज्ञ डा. रविन्द्र घिमिरेले भने, ‘त्यसक्रममा सचेतनामूलक श्रव्यदृश्य सामग्री, सडक नाटक, विज्ञका विचार र कालाकारमार्फत प्रस्तुति दिएर बिमा नगरेका नागरिकलाई बिमा गर्न अभिपे्ररित गरिनेछ ।’

अभियानका सल्लाहकार एवं नेपाल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक विक्रान्त पाण्डेका अनुसार घुम्ती बिमा कार्यक्रम हुने स्थानमै बिमा गर्ने सुविधासम्म प्रदान गरिनेछ ।

‘निर्जीवन बिका लागि कार्यक्रमस्थलमै टेलरमेड पोलिसीमार्फत बिमा गर्न सकिने गरी कार्यक्रम सेट गरिएको छ,’ पाण्डेले भने, ‘यो कार्यक्रम नेपालमा नयाँ र उपलब्धिमूलक हुने हाम्रो विश्वास छ ।’ जीवन बिमा गराउने प्रक्रिया अलि लामो भएकाले त्यसको तयारी अलि पहिलेदेखि नै गरिने र कार्यक्रमका दिन घोषणा गरिने एनसिसले जनाएको छ ।

नेपालमा बिमा सेवा सुरुवात भएको ६८ वर्षसम्म कुल जनसंख्याको ७ प्रतिशतमात्र नागरिक बिमाको पहुँचमा थिए । दुई वर्षयता १० प्रतिशत वृद्धि भएर पुससम्ममा १७ प्रतिशत पुगेको छ । बिमा समितिमा आएको नयाँ नेतृत्वले गरेका संरचनागत तथा प्रक्रियागत सुधारका कारण बिमाको दायरा दुई वर्षमै १४३ प्रतिशत बढेको हो ।

‘हाम्रो पहल यो प्रतिशतलाई अबको दुई वर्षमा २५ प्रतिशत नघाउनेमा केन्द्रित हुनेछ,’ एनसिसका निर्देशक डुन्डुराज आचार्य (डीआर)ले भने, ‘सरकार र बिमा समितिलाई सघाउनु नै अभियानको मुल उद्देश्य हो ।’ बिमामा नेपालीको पहुँच बढाउन बिमा समितिले नै पनि जनप्रतिनिधिसम्म पुगेर चेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको