Like us!
Follow us!
Connect us!
Watch us!

कृष्णधामको आकर्षण बढ्दै

विहीबार, ३० साउन २०७६, १५ : ५० मा प्रकाशित

कृष्णधामको आकर्षण बढ्दै

अर्थ संसार, काठमाडौं – धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको पश्चिम नवलपरासीको सुनवल–४ रमवापुरमा निर्माण गरिएको ७१ फिट अग्लो श्रीकृष्ण भगवान्को मूर्तिले यहाँको आकर्षण बढाएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले निर्माण गरिएको उक्त मूर्ति विश्वकै अग्लो रहेको अनुमान गरिएको छ । पूर्वपश्चिम राजमार्ग छेउमै रहेको अग्लो मूर्ति हेर्ने र तस्बीर खिच्नेको अहिले यहाँ भीड नै लाग्ने गरेको छ । दैनिक हजारौँको सङ्ख्यामा मूर्ति हेर्न र तस्बीर खिचाउन दर्शक आउने गरेका छन् ।

कतिपयले राजमार्गमा सवारी साधान रोकेरै पनि मूर्ति हेरेर आनन्द लिने गरेको मूर्ति निर्माण समितिका संयोजक उमाकान्त उपाध्यायले जानकारी दिनुभयो । कृष्ण भगवान्को मूर्ति निर्माणसँगै अहिले रमवापुर क्षेत्र नै धार्मिक तथा पर्यटकीय गनतव्यका रुपमा विकास भइरहेको छ । अग्लो कृष्णको मूर्ति निर्माण गर्न रु एक करोड आठ लाख लागेकामा सुनवल नगरपालिकाले रु ३८ लाख अन्य लगानी दाताबाट स्वेच्छिक सहयोग रकम सङ्कलन गरिएको उहाँले बताउनुभयो । निर्माणाधीन मूर्तिको ५०० मिटर पश्चिम उत्तरमा एउटा दामोदर कुण्ड (दह) रहेको र उक्त कुण्डमा श्रीकृष्णले स्नान गरेको किंवदन्ती छ । उक्त कुण्ड नजिकको गाउँको नामसमेत दामोदार कुण्ड रहन गएको बताइन्छ ।

उक्त स्थान भगवान् श्रीकृष्णको दामोदरस्वरुपसँग सम्बन्धित भएका कारण नै भगवान् श्रीकृष्णको दामोदरस्वरुपको मूर्ति निर्माण गरिएको स्थानीयवासी तथा महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछाानेले जानकारी दिनुभयो । “प्राचीनकालमा यो ठाउँ भगवान् गौतम बुद्धसँगसमेत जोडिएको इतिहास छ, यस क्षेत्रलाई धार्मिक र पर्यटकीय हिसाबले उत्कृष्ट गन्तब्य बनाउने उद्देश्यसहित हामी स्थानीयवासी सक्रियताका साथ लागिपरेका छौँ”, उहाँले भन्नुभयो । चौध बिघा क्षेत्रफलमा रहेको कृष्णधाममा श्रीकृष्णको अग्लो मूर्तिसहित गणेश, शिव, विश्वकर्मा, दुर्गाको मन्दिर तथा धर्मशाला पनि छन् । नजिकै स्थानीय आमा समूहले १०८ वरपीपल लगाएका छन् भने वरपर सामुदायिक वन क्षेत्र छ । मूर्ति रहेको नजिकैबाट डाकापानी सीमसार क्षेत्रबाट पानी बग्दै आएको छ ।

“उक्त नदीलाई व्यवस्थित गरी सीमासारसम्म डुङ्गा सञ्चालनका साथै बाटीका, सभा कक्ष, खेलकूदका लागि कभर्ड हललगायत संरचना निर्माण गरी डाकापानी सिमसार क्षेत्रसँगसमेत जोडेर आकर्षक धार्मिक पर्यटन क्षेत्र बनाएर बढीभन्दा बढी पर्यटक भित्र्याउने हाम्रो उद्देश्य हो”, श्रीकृृष्णाष्टमी मेला आयोजक समितिका अध्यक्ष बालकृष्ण पङ्गेनीले भन्नुभयो । उक्त स्थललाई पर्यटकीयस्थलका रुपमा विकास गर्न यहाँ थप संरचना निर्माण गर्ने गरी नगरपालिकाले डिपीआर तयार गरिरहेको सुनवल–४ का वडाध्यक्ष वीरबहादुर गुरुङले बताउनुभयो ।

 

यस धामको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षको श्रीकृष्णाष्टमीको अवसरमा सप्ताहव्यापी भागवत् महापुराण वाचन एवं सप्ताह ज्ञान महायज्ञ मेलासमेत सञ्चालन गरिँदैछ । यही भदौ १ गतेदेखि सात गतेसम्म सञ्चालन हुने उक्त महायज्ञबाट कृष्णधामलाई व्यापक प्रचारप्रसार गरी पर्यटन आकर्षण गर्ने लक्ष्य रहेको श्रीकृष्णाष्टमी मेला आयोजक समितिका अध्यक्ष पङ्गेनीले जानकारी दिनुभयो । करीब आठ लाख खर्च हुने अनुमान गरिएको महायज्ञका लागि तयारीसमेत पूरा भएको उहाँले बताउनुभयो । छ वर्षअघि सुनवलकी समाजसेवी देवी घिमिरेको परिकल्पनामा उक्त स्थलमा कृष्णको अग्लो मूर्तिले सार्थकता पाएको हो । यस स्थलको संरक्षण, सम्वद्र्धन, प्रचारप्रसार तथा विकासका लागि सुनवल नगरपालिका तथा स्थानीयवासीको सक्रियता रहेको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रमा वर्णन छ । कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानवीय रूप धारण गरेको कुरा पनि धार्मिक ग्रन्थमा उल्लेख छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको