Like us!
Follow us!
Connect us!
Watch us!

अब नेपालबाट अष्ट्रेलिया सिधा हवाई उडान

dibesh

मंगलबार, १४ असोज २०७६, १० : २६ मा प्रकाशित

अब नेपालबाट अष्ट्रेलिया सिधा हवाई उडान

अर्थ संसार, काठमाडौ – नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०औँ मुलुक अष्ट्रेलिया भएको छ ।

अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मुख्यालय मन्ट्रियलमा आज नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय हवाईसेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिनुभयो ।

“आइकाओको प्रधान कार्याल मन्टियल क्यानाडामा १ अक्टोबर सन् २०१९ मा नेपाल सरकार र अष्ट्रेलिया  सरकारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भई हवाईसेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षरका साथै एक समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ”, सहसचिव आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्झौताअनुरुप दुवै पक्षका एयरलाइन्सले जुनसुकै प्रकारको वायुयानबाट सात उडान गर्न सक्नेछन् । 

नेपालका तोकिएका एयरलाइन्सले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान गर्न पाउनेछन् । अन्य विमानस्थलमा असीमित क्षमतामा उडान गर्न सक्ने समझदारी भएको छ । यस्तै अष्ट्रेलियन पक्षका एयरलाइन्सले काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सात उडान गर्न पाउने जनाइएको छ । पोखरा, भैरहवालगायत अन्य विमानस्थलमा सातामा २८ उडान गर्न सक्नेछन् । 
    
दुईपक्षीय समझदारीअनुसार दुई मुलुकका एयरलाइन्सले जुनसुकै प्रकारको वायुयान प्रयोग गरी आ–आफूले निर्धारण गरेको उडान सङ्ख्या वा क्षमतामा डेडिकेटेड कार्गो उडान गर्न पनि पाउने जनाइएको छ । सहसचिव आचार्यका अनुसार दुवै पक्षका एयरलाइन्सले दक्षिण एशिया, दक्षिण–पूर्वी एशिया र मध्यपूर्वका कुनै दुई विन्दुहरु उपयोग गर्दै मध्यवर्ती विन्दु भएर पाँचौँ ट्राफिक अधिकार उपोग गर्न पाउनेछन् । उक्त समझदारीपत्रमा पर्यटन मन्त्रालयका सहसचिव आचार्य र अष्ट्रेलियन प्रतिनिधिमण्डलका तर्फबाट सङ्घीय पूर्वाधार, यातायात, शहरी एवं क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जिम होल्फले हस्ताक्षर गर्नुभएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको