Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको प्रणाली ‘ह्याक’ गर्ने अर्का एजेन्ट पक्राउ

निशा हुमाँगाई

आइतबार, २० पुस २०७६, १४ : ३१ मा प्रकाशित

कृषि विकास बैंकको प्रणाली ‘ह्याक’ गर्ने अर्का एजेन्ट पक्राउ

अर्थ संसार, काठमाडौ – विदेशी नागरिकसँग मिलेर कृषि विकास बैंकको प्रणाली ‘ह्याक’ गरी रकम निकाल्ने गिरोहका अर्का नेपाली एजेन्ट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको रङ्गेली नगरपालिका–२ का ४३ वर्षीय दीपक नेपाल रहेका छन् ।

बैंक ह्याकिङ प्रकरणमा संलग्न उनलाई काठमाडौँको बसुन्धाराबाट पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिएका छन् ।

ह्याकिङका मुख्य योजनाकार भने अफ्रिकीमूलका पिटर हुन् । उनले भारतमा बसेर योजना बनाई नेपाली एजेन्टलाई प्रयोग गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।

उक्त घटनामा संलग्न मध्ये अहिलेसम्म १९ जना पक्राउ परे पनि अझै १५ जना भन्दाबढी फरार रहेको थापाले बताए । पक्राउ परेका बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । “बैंकमा चेक साट्न जाँदै गर्दा नेपाललाई पक्राउ गरिएको हो, एक करोड रकम उनको बैंक खातामै छ”, थापाले बताए । उनी यसअघि पटकपटक रकम निकाल्ने प्रयास गरे पनि पक्राउ पर्न सकेका थिएनन् ।

उनीहरुले कृषि विकास बैंकबाट सफ्टवेयर ह्याक गरी रु चार करोड ७३ लाख ९६ हजार विभिन्न व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट रु १२ लाख निकालेका थिए । रु दश लाख हुन्डीमार्फत विदेशी ह्याकरलाई पैसा पठाए पनि अन्य पैसा पठाउन भ्याएका थिएनन् । नेपाली एजेन्टका खाताखाता मै पैसा पुगेको थियो ।

गत असोज पाँच गते पानस रेमिट र कृषि विकास बैंकको प्रणाली ह्याक गरी उनीहरुले रकम निकाल्दै गर्दा १२ जनालाई महाशाखाको टोलीले पक्राउ गरेको थियो । उनीहरुबाट तत्कालीन समयमा प्रहरीले रु ६५ लाख बरामद गरेको थियो ।

प्रहरीका अनुसार नाइजेरियाली र भारतीय नागरिकसँग मिलेर नेपालको बैंक तथा वित्तीय संस्थाबाट रु पाँच अर्ब रकम निकाल्ने योजना उनीहरुको थियो । समयमै सूचना प्राप्त हुँदा उनीहरुको योजना विफल भयो । भारतको मुम्बई र नेपालमै बसी उक्त गिरोहले नेपाली नागरिकलाई प्रयोग गरी कृषि विकास बैंकको क्रेडेन्सियल ह्याक गरी रकम निकालेका थिए ।

शुक्रबार पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको