अर्थ संसार, काठमाडौं - विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को सञ्चालक समितिले आज थप १४ अर्ब अमेरिकी डलरको द्रुत वित्तियकरण प्याकेज अनुमोदन गरेको छ ।
यो सहायता विभिन्न राष्ट्रहरू र कम्पनीहरूलाई तीव्र गतिमा फैलिरहेको कोभिड–१९ निरोध, पहिचान तथा सम्बोधनका लागि उपलब्ध हुनेछ । यो प्याकेजले जनस्वास्थ्य सतर्कता राष्ट्रिय प्रणाली सुदृढीकरण अन्तर्गत रोग नियन्त्रण, उपचार र निदान र निजी क्षेत्रलाई सहयोग गर्नेछ ।
विश्व बैंक समूहको सदस्य आइएफसीले १४ अर्ब डलरको प्याकेजमध्ये कोभिड–१९ सम्बन्धि सहयोग यसअघिको ६ अर्ब डलरबाट वृद्धि गरी ८ अर्ब डलर पुर्याउनेछ । आइएफसीको सहयोग कोभिड–१९ को तीव्र विस्तारका कारण आर्थिक गिरावटको मारमा परेका निजी कम्पनी र तिनका कर्मचारीहरूका लागि हो ।
आइएफसीले उपलब्ध गराउने वित्तिय सुविधाको ठूलो हिस्सा यसका ग्राहक बैंकिङ्ग संस्थाहरू मार्फत् परिचालन हुनेछ । यसबाट व्यापारका लागि वित्तिय सुविधाका अतिरिक्त कार्यशील पुँजी सहायता तथा आपूर्ति व्यवस्थामा उत्पन्न अवरोधले संघर्षरत निजी कम्पनीहरूलाई मध्यकालीन वित्तिय सुविधा उपलब्ध हुनेछ । आइएफसीको सम्बोधनले महामारीका कारण प्रत्यक्ष मारमा परेका पर्यटन तथा उत्पादनमूलक उद्योग लगायत आर्थिक क्षेत्रका विद्यमान यसका ग्राहकहरूको दायित्व भुक्तानीमा सहयोग पुग्नेछ । यो प्याकेजले महामारीलाई सम्बोधन गरिरहेका स्वास्थ्य सेवा र यससँग सम्बन्धित उच्च मागको सामना गरिरहेका चिकित्सा उपकरण, औषधी उद्योग जस्ता क्षेत्रहरू लाभान्वित हुनेछन् ।
‘पुनर्स्थापनाको समय छोट्याउन अत्यावश्यक छ । यो प्याकेजले कोभिड–१९ को विस्तारले व्यवसाय र तिनका कारणदारलाई वित्तिय तथा आर्थिक प्रभाव न्यूनीकरणमा तत्काल सहयोग पुर्याउँछ,’ विश्व बैंक समूहका अध्यक्ष डेभिड मल्पासले भन्नुभयो, ‘विश्व बैंक विकासशील राष्ट्रहरूको आवश्यकता अनुसार छिटो, छरितो ढंगले सम्बोधनका लागि प्रतिबद्ध छ । सहायता कार्यहरू पहिले नै शुरू भैसकेका छन्, आज स्वीकृत विस्तारित वित्तिय उपकरणले अर्थतन्त्रहरू, कम्पनीहरू र रोजगारी बचाउन मद्दत गर्नेछ ।’
आज घोषणा भएको अतिरिक्त २ अर्ब डलर यसभन्दा अघि मार्च ३ मा घोषित विश्व बैंकको ६ अर्ब डलरको लक्षित प्याकेजबाट स्वास्थ्य प्रणाली सुदृढीकरण र रोगको निगरानी तथा आइएफसीको ६ अर्ब डलरबाट अर्थतन्त्रमा उत्पन्न धक्काका कारण अत्याधिक जोखिममा रहेका लघु, साना तथा मध्यम आकारका उद्यमलाई जीवनाधार प्रदान गर्न मद्दत पुर्याउने शुरूवाती सहयोगमा थप हुनेछ ।
‘यो महामारीले जीवन मात्र होइन, अर्थतन्त्रहरू र जीवनस्तर पनि स्वास्थ्य संकटकालकै अवस्थामा जसरी चल्ने देखिन्छ । यो समयमा पनि हाम्रा ग्राहकहरूका उद्यम/व्यवसाय सञ्चालनलाई सुनिश्चित गरेर विकाशशील राष्ट्रका निजी क्षेत्र सक्षम भएर अर्थतन्त्रलाई चाँडै पुनर्स्थापना गर्न सहयोग गर्नेछन् भन्ने अपेक्षा गर्न सक्छौं,’ आइएफसीका प्रमुख कार्यकारी अधिकृत फिलिप ले हुर भन्नुहुन्छ, ‘फलतः यसले जोखिममा रहेका समूहलाई उनीहरूको जनजीविका यथाशीघ्र पुनर्स्थापित गर्न र भविष्यका लागि लगानीलाई निरन्ता दिन सहयोग गर्छ ।’
सन् २००८ को विश्वव्यापी वित्तिय संकट र पश्चिम अफ्रिकी इबोला भाइरसको महामारीको समयमा तत्कालै परिचालित आइएफसीसँग विकासशील देशका निजी क्षेत्रका गतिविधि र आर्थिक विस्तारमा उत्पन्न बाधाव्यवधान सम्बोधनका लागि विश्वव्यापी र क्षेत्रीय संकटसँगका प्रतिवाद पहलकदमीमा सफल पदचाप रहेको छ ।
आइएफसीको सम्बोधनमा मुख्य चार भाग रहेका छन् :
१. २ अर्ब डलर रियल सेक्टर क्राइसिस रेस्पोन्स फेसिलिटी (वास्तविक क्षेत्र संकट प्रतिवाद सुविधा) बाट योगदान गरिएको हो । यसबाट आइएफसीका पूर्वाधार, उत्पादनमूलक उद्योग, कृषि र सेवा क्षेत्रमा महामारीका कारण जोखिममा रहेका विद्यमान ग्राहकलाई सहयोग गरिनेछ । आइएफसीले आवश्यकतामा रहेका कम्पनीहरूका लागि ऋण प्रस्ताव गर्न सक्छ र अत्यावश्यक रहेको अवस्थामा स्वपुँजी लगानी गर्न सक्नेछ । यो उपकरणले पनि माग वृद्धिको सामना गरिरहेका स्वास्थ्य सेवा जस्ता क्षेत्रका कम्पनीलाई सहयोग पुग्नेछ ।
२. २ अर्ब डलर विद्यमान ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (विश्वव्यापी व्यापार वित्तियकरण कार्यक्रम) बाट योगदान गरिएको हो । यसले वित्तिय संस्थाको भुक्तानी जोखिमलाई सुरक्षण प्रदान गरी उनीहरूमार्फत् वस्तु आयात तथा निर्यात कम्पनीहरूलाई व्यापारका लागि कर्जा उपलब्ध गराउनेछ । यो सुविधाले विश्वव्यापी आपूर्ति श्रृंखलामा आवद्ध साना तथा मझौला उद्यमलाई सहयोग पुर्याउने आइएफसीको अपेक्षा छ ।
३. २ अर्ब डलर वर्किङ क्यापिटल सोलुसन्स प्रोग्राम (कार्यशील पुँजी समाधान कार्यक्रम) बाट उपलब्ध भएको हो । यसले उदीयमान बजारका बैंकहरूलाई कर्जा लगानीमार्फत् व्यवसायलाई कार्यशील पुँजी वृद्धि गर्न, फर्म/कम्पनीहरूले आफ्नो खर्च आवश्यकता पूरा गर्न र कामदारलाई क्षतिपूर्ति दिन सामूहिक कोषका रूपमा प्रयोग गर्न सक्छन् ।
४. आइएफसीका ग्राहकहरूको अनुरोधमा मार्च १७ मा स्वीकृत नयाँ भागः ग्लोबल ट्रेड लिक्विडिटी प्रोग्राम एण्ड द क्रिटिकल कमोडिटिज् फाइनान्स प्रोग्राम (विश्वव्यापी व्यापार तरलता कार्यक्रम र अत्यावश्यक वस्तुका लागि वित्तिय सुविधा कार्यक्रम), दुबै बाट २ अर्ब डलर स्थानीय बैंकहरूलाई जोखिम साझेदारी सहयोगका रूपमा उपलब्ध भई उदीयमान बजारका कम्पनीहरूमा वित्तियकरणले निरन्तरता प्राप्त गर्न सक्नेछ ।
आइएफसीले आपत्कालीन वित्तिय सुविधा पठाउन यसअघिदेखि नै काम शुरू गरिसकेको छ । उदाहरणका लागि, हामीले भियतनामका चार बैंकलाई २९ करोड ४० लाख डलर व्यापारका लागि वित्तिय सुविधा विस्तार गरेका छौं, जसले त्यहाँका कम्पनीहरू र खासगरी साना मझौला उद्यमले अत्यावश्यक अवस्थामा कर्जा सुविधा प्राप्त गरेका छन् ।
आइएफसीले यथाशक्य छिटो कम्पनीहरूलाई सहयोग पुर्याउने सम्बन्धमा विचार गर्दा उच्च जवाफदेहीताको उच्च मापदण्ड अपनाउँछ । आइएफसी व्यवस्थापनले विगतका संकट सम्बोधनमा अनुसरण गरेजस्तै शाखा, वातावरणीय र सामाजिक सुशासन, अनुपालना मापदण्डका आधारमा परियोजना छनौट गर्दछ ।
आइएफसीका बारेमा
विश्व बैंकको भगिनी संस्था र विश्व बैंक समूहको सदस्य आइएफसी उदयमान बजारमा निजी क्षेत्र लक्षित सबैभन्दा ठूलो विश्वव्यापी विकास संस्था हो । हामीले विश्वभर २,००० भन्दा बढी व्यवसायसँग हाम्रो पुँजी, विशेषज्ञता, उनीहरूको आवश्यकता अनुसार बजार र अवसर सिर्जनाका लागि काम गर्दै आएका छौ । आर्थिक वर्ष २०१९ मा हामीले विकासशील देशहरूमा गरिबी निवारण र साझा संवृद्धिका लागि निजी क्षेत्रको सामथ्र्य विस्तार गर्न १९ अर्ब डलरको दीर्घकालीन लगानी गरिएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस