Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएनले डेढ करोडको आवश्यक सामग्री सरकारलाई दिने

निशा हुमाँगाई

मंगलबार, २५ चैत्र २०७६, १४ : १५ मा प्रकाशित

एनआरएनले डेढ करोडको आवश्यक सामग्री सरकारलाई दिने

अर्थ संसार, काठमाडौं - गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र उपचारका लागि डेढ करोड बराबरको अवाश्यक सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ ।

सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा हालै बसेको गैरआवासीय नेपाली सङ्घ कार्यकारी (एनआरएनए आइइएस) को बैठकले कोभिड–१९ राहत कोषमा जम्मा भएको र उठ्दै गरेको रकमबाट रु एक करोड ६२ लाख नेपाली रुपैयाँ बराबरको सामग्री खरिद गरी सरकारलाई हस्तान्तरण गर्ने निर्यण गरेको हो ।

उक्त सहयोग हस्तान्तरणपछि उठ्ने रकम भने विदेशमा नै बस्ने नेपालीको सहयोगका लागि राहतस्वरुप खर्च गरिने सङ्घले जनाएको छ । सङ्घले कोरोनाको नियन्त्रण, रोकथाम तथा उपचारका लागि आवश्यक सहयोग गर्न विश्वभरका नेपालीमाझ आह्वान गर्दै आएको छ । बैठकले सङ्घ क्रियाशील सबै क्षेत्रमा कोभिड–१९का विरुद्ध लड्न समिति बनाएर, नेपालीलाई सहयोग गर्न, भएका गतिबिधि र घटना समेत अपडेट गर्न क्षेत्रीय संयोजक (आरसी)लाई निर्देशन दिएको छ । यसैगरी नेपाल सरकारका विदेशस्थित रहेका मिशन, राजदूतावासका प्रतिनिधि रहने, सम्पूर्ण सङ्घ, संस्था र प्रतिष्ठित र सम्बन्धित व्यक्तिको समेत प्रतिनिधित्व हुने गरि समिति बनाउने निर्णय समेत गरेको छ ।

सोही समितिले सहयोग र उद्धारका लागि काम गर्न नेपाल सरकारसँग प्रस्ताव गर्नेछ । यसका लागि पहल गर्न सङ्घका अध्यक्ष पन्तलाई जिम्मेवारी दिएको सङ्घका सूचना तथा सञ्चार उपसंयोजक कृष्ण केसीले जानकारी दिएका छन् । 

एनसिसी साइप्रसको नेपालीलाई राहत ‘प्याकेज’

यसैबीच, गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् (एनसिसी) साइप्रसले कोरोना भाइरसका कारण अप्ठयारोमा परेका त्यहाँ निवासी नेपालीलाई खाद्यान्नलगायत उपभोग्य वस्तुसहितको राहत ‘प्याकेज’ दिने भएको छ । विभिन्न पेशा व्यवसायको सिलसिलामा साइप्रसमा रहेका नेपालीलाई त्यहाँस्थित नेपाली नियोगको रहोबरमा राहत वितरण गर्न लागिएको उनले जानकारी दिएका छन् ।

कोरोना भाइरसको रोकथाम तथा निराकरणको लागि साइप्रसले आगामी अप्रिल १३ सम्मको लागि लकडाउन घोषणा गरेको छ । लकडाउनको अवस्थामा नेपाली कामदार र विद्यार्थीलाइ खाद्यान्नलगायतमा समस्या परेको सङ्घले जनाएको छ । एनआरएनए साइप्रसलगायत त्यहाँ रहेका स्थानीय संस्थाले अतिजोखिममा परेका विद्यार्थी तथा आयश्रोत नभएका नेपालीलाई लक्षित गर्दै राहत प्याकेजको घोषणा गरेको छ ।

राहत प्याकेज अप्रिल ८ तारिख बाटै वितरण गरिने छ । राहत प्याकेजमा चामल, दाल, चाउमिन, आलु, प्याज, तेल, सोयाविनलगायत छन् । अतिजोखिममा परेका विद्यार्थीले गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद साइप्रसको फेसबुक म्यासेन्जरमा आफ्नो सबै विवरण पेश गर्नु पर्नेछ । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको