अर्थ संसार, काठमाडौं - आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कर्जाको व्याजदर घटाएको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कर्जाको भारित औसत व्याजदर ११.८० प्रतिशत रहेको उल्लेख छ । गत आवमा त्यस्तो कर्जाको भारित औसत व्याजदर १२.३३ प्रतिशत रहेको थियो ।
केन्द्रीय बैंकको विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आवको आठ महिनाको तुलनामा कर्जाको भारित औसत व्याजदर घटेको पाइएको हो । बैंकका अनुसार २०७५ को फागुनमा ९.६५ प्रतिशत औसत आधार दर रहेकामा गत फागुनमा ९.४५ प्रतिशत कायम भएको छ । यसले पनि औसत आधार दरमा झण्डै ०.११ प्रतिशतले कमी आएको छ ।
गत फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत व्याजदर ६.७७ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ११.८० प्रतिशत रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा निक्षेपको भारित औसत व्याजदर ६.६२ प्रतिशत र कर्जाको भारित औसत व्याजदर १२.३३ प्रतिशत रहेका थिए ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् गत फागुन मसान्तसम्म कुल १८७ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १४२ संस्थाको इजाजत खारेज भई कुल ४५ संस्था कायम भएको छ । बैंकका अनुसार गत फागुनसम्म कुल ७५३ स्थानीय तहमध्ये ७४६ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । त्यस आधारमा अब मात्रै सात स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी छन् ।
प्रदेश नं १ का कुल १३७ स्थानीय तहमध्ये १३६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । सो प्रदेशमा अब एक स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी छन् । प्रदेश नं २ र प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । प्रदेश नं २ मा कुल १३६ स्थानीय तह छन् भने प्रदेश नं ५ मा कुल १०९ स्थानीय तह छन् । यस्तै वाग्मती प्रदेशका कुल ११९ स्थानीय तहमध्ये ११७ मा वाणिज्य बैंकका शाखा खुलेका छन् । सङ्घीय राजधानीसमेत रहेको सो प्रदेशमा अब दुई स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी छन् । गण्डकीका कुल ८५ स्थानीय तहमध्ये ८४ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।
कर्णाली प्रदेशका कुल ७९ स्थानीय तहमध्ये ७८ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । अब एक स्थानीय तहमा शाखा खुल्न बाँकी छ । सुदूरपश्चिम प्रदेशका कुल ८८ मध्ये ८६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । अब दुई स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी छ । हाल कुल २७ वाणिज्य बैंक, २३ विकास बैंक, २२ वित्त कम्पनी, ८९ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक छन् । बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या गत असार मसान्तमा आठ हजार ६८६ रहेकोमा त्यो बढेर गत फागुन मसान्तमा नौ हजार ६४० पुगेको छ ।
उत्पादनशील उद्योग तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गरिँदै आएको पुनरकर्जा गत फागुन मसान्तमा रु १८ अर्ब ३८ करोड पुगेको छ । यस्तै साधारण पुनरकर्जा रु १५ अर्ब ८३ करोड र निर्यात पुनरकर्जा रु एक अर्ब एक करोड उपयोग भएको छ । भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता गत फागुन मसान्तमा रु एक अर्ब ५३ करोड रहेको छ । यस्तो कर्जा कुल एक हजार ५९२ ऋणीले उपयोग गरेका छन् । - रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस