Like us!
Follow us!
Connect us!
Watch us!

अझै कति दिन लाग्ला माैसम सफा हुन ?

निशा हुमाँगाई

मंगलबार, १६ बैशाख २०७७, ११ : २८ मा प्रकाशित

अझै कति दिन लाग्ला माैसम सफा हुन ?

अर्थ संसार, काठमाडौं - पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा पश्चिमी वायु र स्थानीय वायु पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडी–अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले मेघगर्जनसहित वर्षा भइरहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताएका छन् । उनका अनुसार नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रकृति हेर्दा अझै केही दिन मौसम सफा हुने अवस्था छैन ।

वायुमण्डलमा जलवाष्पयुक्त हावाको प्रवेश र दिउँसोको समयमा घाम नलागेकाले अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको मौसमविद्को भनाइ छ । हाल देशको पश्चिमी तथा पूर्वी भूभागका साथै मध्य पहाडी भूभागमा सामान्य बदली भई एक–दुई स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातको समयमा देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहीबार देशभर सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले औँल्याएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम सात दशमलव पाँच डिग्री र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको