अर्थ संसार, काठमाडौं - हाल लकडाउनकाे अवस्थामा विभिन्न सञ्चार माध्यमका पत्रकारहरू मर्कामा परेका छन् । समाचार संकलन गर्न जाँदा उनीहरूले थुप्रै समस्याहरू खेप्नु परेकाे छ ।
नेपाल पत्रकार महासङ्घ चितवन शाखाले बुधबार एक विज्ञप्ति जारी गर्दै समाचारका विषयलाई लिएर पत्रकारमाथि धम्की दिइएको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
महासङ्घले जारी गरेको विज्ञप्तिमा अनलाइन खबर डटकमका समाचारदाता सुवास पण्डितलाई समाचार लेखेकै कारण धम्की दिइएको जनाइएको छ ।
चितवनमा रहेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट स्वास्थ्य सामग्री शङ्कास्पदरूपमा बाहिरिएको र अस्पतालको खर्च प्रक्रियामा अनियमितता भएको समाचार प्रकाशित भएपछि पण्डितलाई धम्की दिइएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी सङ्घ र अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनले विज्ञप्ति जारी गरी समाचार लेख्ने व्यक्तिको पहिचान गरी आफैँले आवश्यक कारवाही गर्ने चेतावनीसहितको धम्की दिइएको जनाइएको छ ।
शाखा अध्यक्ष राधेश्याम खतिवडाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा धम्की दिने व्यक्तिको पहिचान गरी कानूनी दायरामा ल्याउन, घटनामा संलग्नमाथि कारवाही गर्न र पत्रकारको संवैधानिक अधिकारको ख्याल गरी पत्रकारको सुरक्षामा संवेदनशील बन्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ ।
नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले जारी गरेको विज्ञप्तिमा पत्रकार पण्डितमाथि धम्की दिने संस्थाका जिम्मेवार व्यक्तिमाथि कारवाहीको माग गरिएको छ । – रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस