Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावर युद्धस्तरमा अगाडि बढ्यो, यसरी बन्दैछ अपर नौगाड जलविद्युत् आयोजना (फोटोफिचर)

सोमबार, २८ चैत्र २०७३, ११ : ५७ मा प्रकाशित

अपि पावर युद्धस्तरमा अगाडि बढ्यो, यसरी बन्दैछ  अपर नौगाड जलविद्युत् आयोजना (फोटोफिचर)

अर्थ संसार
काठमाडौँ– निजी क्षेत्रका अधिकाशं जलविद्युत् प्रवद्र्धकले काम नगर्ने र केवल हल्ला मात्रै गर्ने प्रवृत्ति बढीरहेको बेला अपि पावर कम्पनीले अगाडि बढाएको अपर नौगाड जलविद्युत् आयोजनाको काम युद्धस्तरमा अगाडि बढेको छ ।

आयोजनाले आगामी चैत्र मसान्तसम्म निर्माण सम्पन्न गरेर सुदूरपश्चिमलाई उज्यालो बनाउने योजना अगाडि सारेको छ । अपि पावरले यसअघि निर्माण गरेको नौगाड साना जलविद्युत् आयोजना १७ महिनामा सम्पन्न गरेको थियो ।

कुल ८.५ मेगावाट क्षमताको सो आयोजना तोकिएको समय भन्दा पहिल्यै सम्पन्न गरेर जलविद्युत् उत्पादन तथा निर्माणमा नयाँ इतिहास कायम गरेको अपि पावरले एक पछि अर्को गर्दै साना तथा मझौला आयोजनालाई अगाडि बढाएको छ ।

 हाल निर्माणको क्रममा रहेको अपर नौगाड जलविद्युत् आयोजनाको क्षमता ८ मेगावाट रहेको छ । निर्माण सुरु भएको पाँच महिनामा ३० प्रतिशत निर्माण कार्य सम्पन्न भएको म्यानेजिङ डाइरेक्टर सञ्जिव न्यौपानेले जानकारी दिनुभयो ।

आयोजनाले कुल नौ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइन निर्माण सम्पन्न गरिसकेको छ । हाल बाँध तथा इन्टेकको काम भइरहेको छ भने पेनस्टक पाइप जडान कार्य जारी छ । यस्तै पावर हाउसको फाउण्डेशन निर्माणको कार्य जारी रहेको छ ।

 आयोजनाले स्थानीय जनशक्तिलाई क्षमता र योग्यताको आधारमा काम दिएको छ । यसले स्थानीय स्तरमा रोजगारी मात्रै प्राप्त भएको छैन, आयोजनामा स्थानीयको अपनत्वलाई समेत सुनिश्चित गरिदिएको छ ।

सीप अनुसारको रोजगारी भन्ने नाराका साथ आयोजनाले स्थानीय जनशक्तिको क्षमता र योग्यताको कदर गरेको स्पष्ट पार्दै म्यानेजिङ डाइरेक्टर न्यौपानेले आयोजना बनाउने काम सँगै स्थानीयलाई अपनत्वको भावनाको विकास गराउने नै आफूहरुको प्रमुख लक्ष्य रहेको बताउनुभयो ।

 नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चमेलिया जलविद्युत् आयोजनाको अवस्था दुरुह रहेको अवस्थामा निजी क्षेत्रको आयोजनाको प्रगति भने लोभलाग्दो रहेको छ ।

कम्पनीले सो आयोजना सम्पन्न हुने वित्तिकै अपर चमेलिया जलविद्युत् आयोजना समेत निर्माण गर्ने घोषणा गरेको छ । हल सो आयोजनाको अध्ययन कार्य जारी रहेको छ । एउटै कम्पनीले दर्जनौ आयोजना निर्माण गर्ने लक्ष्यका साथ काम गरिएको भन्दै न्यौपानेले धेरै भन्दा धेरै प्रतिफल दिने र धेरै धन्दा धेरै सेयरधनीलाई खुसी राख्ने लक्ष्य राखेको छ ।

अपर नौगाड जलविद्युत् आयोजनाको कुल लागत रु १४० करोड रहेको छ । त्यसमा रु ४० करोड अपि पावरको लगानी रहेको छ । बाँकी रहेको १०० करोडमा नेपाल उसबिआई बैंकको रु ५५ करोड र प्रभु बैंकको रु ४५ करोड लगानी रहेको छ ।

नेपालको नमुना र ठूलो कम्पनी बनाउने लक्ष्यका साथ काम सुरु गरिएको जानकारी दिदै म्यानेजिङ डाइरेक्टर न्यौपानेले कम्पनीलाई विश्वासिलो र भरपर्दो कम्पनी बनाउने प्रयास गरिएको छ । आयोजना तोकिएको समय भन्दा अझै अगाडि सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिएको न्यौपानेको भनाइ छ ।

अपि पावरको क्षमता र योग्यताको मूल्याङकन सेयर सदस्य र नेपाली उपभोक्ताले गरेको उल्लेख गर्दै उनले अपि पावर नेपालको पायनियर जलविद्युत् उत्पादन कम्पनीको रुपमा विकास गरिने विश्वास व्यक्त गरे । अपर नौगाड जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि सुदूरपश्चिममा जलविद्युत्को उभार मात्रै आउने छैन, त्यसले विकासको मूल समेत फुटाउने, आर्थिक समृद्धिको आधार तयार पार्ने, रोजगारीका नयाँ अवसर सिर्जना हुने तथा स्थानीयलाई सबल एवम् सक्षम बनाउने कम्पनीले विश्वास लिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको